बजेट सिध्याउने वर्षको अन्तिम असार महिनाः काभ्रेपलाञ्चोक जिल्लामा १९ दिनमा ९३ करोड ३२ लाख भुक्तानी

मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष सकिन केहि दिन मात्रै बाँकी हुँदा देशभर जस्तै काभ्रेपलाञ्चोक जिल्लामा रहेका कार्यालयहरुले पनि धमाधम खर्चलाई तिब्रता दिएका छन् । असार १ देखि १९ गतेसम्म संघ र प्रदेश अन्तरगतका कार्यालयहरुले प्राप्त गरेको बजेट अन्तरगत चालु र पुँजीगत गरी ९३ करोड ३२ लाख ७० हजार १ सय ७७ रुपैया भुक्तानी भएको छ भने यो अवधीसम्म १५ अर्ब ७१ करोड ६२ लाख ९४ हजार २ सय ४९ रुपैया भुक्तानी भएको छ ।

संघ अन्र्तगतका ५१ वटा र प्रदेश अन्तरगतका २५ वटा कार्यालय मार्फत ११ महिनामा सुस्त भएको खर्च भुत्तानी आर्थिक वर्षको अन्त्य हुने असार महिनामा तिब्र भएको छ । चालु आर्थिक वर्षका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहको आम्दानी र खर्च बाहेक संघ र प्रदेश सरकारको तर्फबाट चालु र पुँजीगत तर्फ १८ अर्ब ८१ करोड ९ लाख ५६ हजार २ सय ३२ रुपैया बजेट विनियोजन भएको थियो । संघ तर्फ १२ अर्ब २७ करोड ६० लाख ५७ हजार ३ सय २० रुपैया र प्रदेश तर्फ ६ अर्ब ५३ करोड ४८ लाख ९८ हजार ९ सय १२ रुपैया विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले जानकारी दिए ।

संघ अन्र्तगतका ५१ वटा कार्यालयले चालु र पुँजीगत खर्च २०८१ असार १९ गतेसम्म ११ अर्ब ९ करोड१ लाख १३ हजार २ सय २९ रुपैया खर्च भएको छ । पुँजीगत तर्फ १ अर्ब ७५ करोड ७ लाख ९४ हजार ८ सय २१ खर्च भएको छ । चालु तर्फ ९ अर्ब ३३ करोड ९३ लाख १८ हजार ४ सय ७ रुपैया खर्च भएको छ । चालु तर्फ ९ अर्ब ९३ करोड ९९ लाख ६९ हजार १ सय १० रुपैया बजेट विनियोजन भएको थियो । पुँजीगत तर्फ २ अर्ब ३३ करोड ६० लाख ८८ हजार २ सय १० रुपैया विनियोजन भएको थियो । पुँजीगत तर्फको बजेट खर्च गर्न यतिखेर अधिकांश कार्यालयलाई धौ धौ भईरहेको छ । अधिकांश कार्यालयका कर्मचारीहरु विहान देखि रातिसम्म नै यहि कार्यमा ब्यस्त देखिन्छन् । असार १९ गतेसम्म १९ दिनमा चालु तर्फ ६३ करोड ८० लाख २८ हजार ४ सय ५२ रुपैया खर्च भएको छ भने पुँजीगत तर्फ ११ करोड ४४ लाख १७ हजार ८ सय ७९ रुपैया खर्च भएको छ ।

प्रदेश अन्तरगत बजेट प्राप्त गर्ने २५ वटा कार्यालयहरु छन् । १ अर्ब ७५ करोड १८ लाख ८८ हजार ४ सय ९९ रुपैया चालु तर्फ बजेट विनियोजन भएकोमा असार १९ गतेसम्म १ अर्ब ३८ करोड ५६ लाख ५५ हजार ८ सय ३७ रुपैया खर्च भएको छ । असार १ देखि १९ गतेसम्ममा मात्रै १३ करोड १ लाख ३७ हजार ४ सय ९८ रुपैया खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ ४ अर्ब ७८ करोड ३० लाख १० हजार ४ सय १३ रुपैया मध्ये ३ अर्ब २४ करोड ५ लाख २५ हजार १ सय ८५ रुपैया खर्च भईसकेको छ । असार महिनाको १९ दिनमा मात्रै ५० करोड ६८ लाख ६३ हजार ३ सय ४८ रुपैया खर्च भएको छ ।