८ वर्षपछि नुनमा भएको मूल्य वृद्धिले महँगियो भान्सा

नुनको मूल्य वृद्धिले भान्सा महँगिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि मंगलबार नुनको भाउ वृद्धि गरेको थियो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पुर्‍याइएको छ ।

सामान्यतया ठूला होटल र रेस्टुरेन्टलाई बढेको मूल्यको प्रभाव पर्छ । तर, व्यवसायीहरू तत्काल मेनु परिवर्तनको योजनामा भने छैनन् । यद्यपि नुनको भाउ बढ्दा व्यवसायीमा त्यसको भार भने पर्ने उनीहरु बताउँछन् ।

होटल रेस्टुरेन्टको मात्र होइन, नुनको मूल्य बढ्दा त्यसको प्रभाव सर्वसाधारणको भान्सामा पनि देखिने छ । तर, यसबाट हुने महँगीको असर तुलनात्मक रुपमा कम हुनेछ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार नुनमा अझै पनि कम्पनीले घाटा बेहोरिरहेको छ ।

कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ । २३ रुपैयाँमा बिक्री गर्दा समेत कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनको भनाई छ ।

सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।