पुर्पक्षका लागि कारागार चलान भएका मानबहादुर ५० लाख धरौटीमा छुटे

मोतीराम तिमल्सिना
धुलिखेल
५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपुर्ति मागदावी गरिएको काभ्रेपलाञ्चोक जिल्लाको चर्चित आपरधीक घटना विस्फोट पदार्थ सहित बोधिचित्तको रुख काटेको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सिजन भन्ने मानबहादुर तामाङलाई उच्च अदालत पाटनले असार २० गते ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनी शुक्रबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा धरौटी बुझाउँदै रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय राज्यलक्ष्मी बज्राचार्य र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले विस्फोटक पदार्थ, अपराधिक उपद्रव, संगठित अपराध मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८१ जेठ २८ गते गरेको आदेश मिलेको नदेखिँदा बदर गर्ने आदेश गरेको हो । मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ तथा ७२ समेतको आधारमा प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङलाई ५० लाख वा सो बराबरको जमानत दिएमा तारेखमा राख्नु भन्ने आदेश दिएको छ । उच्च अदालत पाटनले सिजन भन्ने मानबहादुरलाई मुख्य योजनाकार नभएकाले छाडिदिन भनेको हो । तिनै मानबहादुर तामाङले २०७६ साल देखि मालामा विवाद गर्दै आएका थिए । उनकै योजनामा अष्ट्रेलिया रहेका कविन्द्र तामाङ र छिमेकी देश चिनमा रहेका याङ कैलिङलाई रुख काट्नु केहि दिन अघि नेपाल झिकाएका थिए । रुख काट्ने योजना बनाउँदै प्रस्ताव समेत लगेका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागि थिए । जिल्ला सरकारी वकीलको कार्यालयले पक्राउ परेका दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई ५८ दिन हिरासत राखेर कसुर कायम हुन नसकेको ठहर गर्दै रिहा गरेको थियो । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको उक्त निर्णय शक्ति, सत्ता र कानूनका धज्जि उडाउँदै ब्यक्तिगत स्वार्थमा लिप्त भएको भन्दै सर्वाेच्चमा रिट दर्ता भएको थियो । रिट पछि सर्वाेच्चले कैफियत झिकाउने आदेश गरेको जाहेरवाला समिप त्रिपाठीले बताए ।

तथ्य, प्रमाण र उपलब्ध अनुसन्धानमा भेटिएका सबुदका आधारमा पक्राउ गरिएका सबै ब्यक्तिहरु उक्त घटनामा योजनाका रुपमा संलग्न भएको देखिन्छ । रोशी गाउँपालिका वडा नम्वर ५ बस्ने निरबहादुर तामाङ समेत जाहेरीले साविक ठुलो पर्सेल गाबिस वडा नं ३ ठुलोपर्सेल बस्ने बर्ष ४१ को सिजन भन्ने मानबहादुर तामाङ, जिल्ला चितवन साबिक शुक्रनगर गा.बि.स वडा नम्वर ९ हाल भरतपुर महानगरपालिका वडा न २५ जब्का बस्ने बर्ष ४१ को महेश चौधरी, माहाबिर भन्ने विश्वनाथ चौधरी, तेमाल गाँउपालिका वडा नं ६ बस्ने बर्ष २८ को कबिन्द्र तामाङ, रोशी गाँउपालिका वडा नं ५ बस्ने बर्ष ४१ को सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाँउपालिका वडा ५ बस्ने बर्ष २७ को बिजय हुमागाई, साबिक फोक्सिङटार गाबिसवडा नं ३ हाल परिवर्तित महाभारत गाँउपालिका वडा नं ३ बस्ने बर्ष ३५ को असल मोक्तान, साबिक सापिङ गाबिस वडा नम्वर ६ हाल परिवर्तित भुम्लु गाउँपालिका वडा नम्वर १ बस्ने बर्ष ३५ को रतन, अजय भन्ने रामजी श्रेष्ठ, छिमेकी देश सिन्चुवान प्रान्त बस्ने चाईनिज नागरिक बर्ष ३८ का याङ कैलिङ विरुद्ध बिष्फोटक पदार्थ, आपराधिक उपद्रव सम्वन्धी कसूर र संगठीत अपराध सम्वन्धी मुद्दा दर्ता गरिएको थियो । ति मध्ये मानबहादुर तामाङ र चितवन प्रहरीले पक्राउ गरेको विश्वनाथ चौधरी बाहेक सबै फरार भनिएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश राजेन्द्र नेपालको आदेशले जेठ २८ गते मानबहादुर तामाङ र विश्वनाथ चौधरीलाई पुर्पक्षमा राख्ने आदेश दिएको थियो । अन्यलाई पक्राउ आदेश जारी भएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । जाहेरवाला समिप त्रिपाठीको ९६ लाख ७ सय ८० र निरबहादुर तामाङ, जग्गाधनीहरु बीरबहादुर तामाङ, दीलबहादुर तामाङ, ठक्कु तामाङ, शेरबहादुर तामाङ, धनबहादुर तामाङलाई दामासाहीको हिसावले ५४ करोड ३ लाख क्षतिपुर्ति भराउन सरकारी वकीलको कार्यालयले अभियोग दर्ता गरेको थियो । सत्यम लिम्बुका हकमा प्रहरीले केहि बोलेको छैन । उनी सम्पर्कमा समेत नआएकाले सम्पर्कमा आएका बखत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । सरकारी वकीलको कार्यालयले प्रतिवादी सागर भनिने रामकृष्ण मैनाली, असल मोक्तान, महाविर भनिने विश्वनाथ चौधरी र चिनीया नागरिक याङ कैलिङलाई विस्फोटक पदार्थ सम्वन्धी कसुर, आपराधिक उपद्रव, एकिकृत कसुर र संगठित अपराधमा सजाँयको माग दावी गरेको छ ।

त्यस्तै प्रतिवादी विजय हुमागाईको हकमा थप सजायँ माग गरिएको छ । यस अघिको मुद्दामा समेत उनका हकमा ८ वर्ष कैद र ८० हजार जरीवना ठहर भएको छ । सिजन भन्ने मानबहादुर तामाङ र कविन्द्र तामाङको हकमा संगठित अपराध दर्ता गरिएको छैन । जबकी मुख्य योजनाकार नै मानबहादुर तामाङ र कविन्द्र तामाङ समेत हुन् । विस्फोटक पदार्थ सम्वन्धी कसुरमा ५ वर्षसम्म कैद र ५० हजार जरिवना, आपराधिक उपद्रव कसुरमा २ वर्ष देखि ५ वर्षसम्म कैद र बीस हजार देखि ५० हजार रुपैयासम्म जरिवना, मतियारको हकमा थप सजायँ र एकिकृत कसुर गरे बापत तथा थप सजायँ सम्वन्धी कसुर माग गरिएको छ । साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो । पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उद्यारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समिप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयामा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो । उक्त बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैया दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखि घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्कि दिदै विद्यूतिय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट धेरै क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठीत अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका थिए ।