वर्षात्‌सँगै बढ्छन् प्राकृतिक प्रकोप, सतर्कता कसरी अपनाउने ?

शुक्रबार रातिदेखि लगातार पानी परेसँगै देशका विभिन्न ढाउँमा बढी पहिरोको जोखिम बढेको छ। नदी तटिय क्षेत्रमा जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विपद्बाट कसरी बच्ने, जोखिम पहिचान कसरी गर्ने, यसको व्यवस्थापनका लागि सरकारले गरेको पूर्व तयारी कत्तिको पर्याप्त छ, यसमा अरू थप के–के गर्नुपर्थ्यो, बर्सेनि ठूलो क्षति हुनुमा हामी कहाँनेर चुकेका छौं, तटीय क्षेत्र वरिपरी बस्नेले कस्ता कुरामा बढी ध्यान दिनुपर्छ, स्थानीय सरकारको विपद् व्यवस्थापनमा कस्तो भूमिका हुनुपर्छ ? लगायत विषयमा विपद्‌विज्ञ वसन्तराज अधिकारीसँगको कुराकानी उहाँकै शब्दमा—

अहिले देशभर वर्षा भइरहेको छ । यो समयमा विभिन्न प्राकृतिक प्रकोपका घटना हुने गर्छन् । यस्ता विपद्बाट बच्न सर्वप्रथम पानीको सतह खोलामा कसरी बढेको छ भन्ने हेर्नुपर्छ । दोस्रो पानी कत्तिको लगातार परेको छ त्यो हेर्ने । लगातार पानी परेको छ भने खोलामा बाढी आउँछ । खोला नभएको ठाउँमा पनि त्यो पानीले पहिरो निम्त्याउन सक्ने सम्भावना हुन्छ । त्यसैले आफ्नो वरिपरि पानीले ल्याउन सक्ने जोखिमको अवस्था कस्तो छ भन्ने कुराको सबैभन्दा पहिले आँकलन हुनुपर्छ । यति आँकलन गरिसकेपछि यदि बाढी, पहिरो आइहाल्यो भने त्यसबाट बच्न सकिने सुरक्षित स्थान कहाँ हुन्छ भनेर पहिचान गर्नुपर्छ । ठाउँको पहिचान गरिसकेपछि त्यो ठाउँमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ ।

रातिको समयमा हो भने टर्चलाइट, लत्ताकपडा, खाद्यान्न, सुरक्षित एवं तत्काल उपलब्ध हुने ठाउँमा राख्नुपर्ने हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाले बाढी आउने विभिन्न ठाउँमा खोलाको सतह मापन गरेको हुन्छ । त्यस्ता ठाउँका बासिन्दालाई जल तथा मौसम विज्ञान विभागले पनि मोबाइलमा एसएमएस पठाउने गरेको छ । हामीसँग इन्टरनेटको पहुँच छ भने विभागको वेबसाइटमा गएर हेर्दा पनि प्रत्येक खोलामा पानीको सतह कति भएको छ र त्यो खतरा हो कि होइन भन्ने कुरा हेर्न सकिन्छ ।

यसरी हामीले आफ्नो वरिपरि बाढीको कस्तो जोखिम छ भनेर थाहा पाउन सक्छौं । पहिरोको सन्दर्भमा भने यति पानी पर्‍यो भने यति पहिरो जान्छ भनेर सामान्य अड्कलहरू छन् तर ठ्याक्कै यो ठाउँमा यस्तो हुन्छ भनेर भन्न सकिंदैन । माटो बग्न थाल्यो, चर–चर आवाज आउने थाल्यो, रुखहरू ढल्कन थाले भने त्यस्तो ठाउँमा पहिरो जान सक्छ भनेर सतर्क रहनुपर्छ ।

विपद् व्यवस्थापनका लागि सरकारले काम गरिरहेको छ, यो स्वागतयोग्य छ । सरकारका सबै अंगहरू जागरुक छन् । कतिपय कुराहरूमा राम्रा शुरूआत भएका छन् । रातदिन खटेर उहाँहरूले सूचना दिइरहनुभएको छ । विगतका घटनाहरू हेर्दा हामीले पाएका सूचनालाई पालना गर्दा मात्र पनि जीउधनको क्षति कम भएको छ । यद्यपि गर्नुपर्ने काम अझै धेरै छन् । पर्याप्त भन्ने त कहीं पनि केही पनि हुँदैन । त्यसैले भएका उपलब्धिलाई ग्रहण गर्दै बाँकी उपलब्धिका लागि संघर्ष गर्ने हो ।

हाम्रो नेपालमा हिमालय पर्वत श्रृङ्खला छ । त्यो पहाडदेखि तराईसम्म भएको हुनाले एउटा निश्चित दूरीमा खोलाको मापन कसरी हुन्छ भनेर नाप्नुपर्‍यो । त्यस्तै देशका विभिन्न ठाउँमा मापन यन्त्रहरू राख्नुपर्‍यो । अहिले पनि नेपाल सरकारले राखेको त छ तर तीन हजार मिटरभन्दा माथि यस्ता यन्त्रहरू छैनन् । यी यन्त्र ती ठाउँमा पनि राख्नुपर्‍यो ।

यी सबै यन्त्रबाट जुन सूचना आउँछन् ती सूचना आम जनमानससम्म पुग्नेगरी स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार जहाँ जहाँबाट प्रभावकारी हुन्छ त्यहाँबाट दिएर त्यो सूचनाको आधारमा प्रतिकार्य कसरी गर्ने भन्ने कुराहरू गर्नुपर्‍यो ।

सरकारले मनसुन प्रतिकार्य कार्ययोजना बनाएको छ । त्यसमा कसको भूमिका के हो ? कति वेला कसले के गर्ने, कस्तो अवस्थामा के गर्ने भन्ने कुराहरू खुलाइएको हुनाले सम्बन्धित सामग्री पढेर त्यो अनुसारको कार्य गर्दा राम्रो हुन्छ ।

सरकारले मनसुन प्रतिकार्य कार्ययोजना बनाएको छ । त्यसमा कसको भूमिका के हो ? कति वेला कसले के गर्ने, कस्तो अवस्थामा के गर्ने भन्ने कुराहरू खुलाइएको हुनाले सम्बन्धित सामग्री पढेर त्यो अनुसारको कार्य गर्दा राम्रो हुन्छ ।

पूर्व तयारी पनि छ तैपनि बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ । हाम्रो देशमा एकदमै धेरै हिमश्रृङ्खला, पहाड र नदीहरू छन् । र, प्रत्येक ठाउँ एकभन्दा अर्को फरक छन् । त्यसमाथि हामीसँग सबै ठाउँको एथेष्ट सूचना छैन । सूचना नभएको हुनाले त्यो सानो ठाउँमा भोलि के हुँदैछ भन्ने जानकारी दिन पाउँदैनौं । त्यसकारण हामीसँग मापन गर्ने राम्रो प्रविधि नहुँदा क्षति घटाउन नसकेको हो ।

फेरि हाम्रोमा तटीय क्षेत्रमा पनि बसोबास छ । यस्ता क्षेत्रमा बस्नेले आफैं पनि ध्यान दिनुपर्ने हुन्छ । पहिलो कुरा त नदी वरिपरि बस्नेले विगतमा कस्तो बाढी आएको थियो भनेर जानकारी राख्नु पर्दछ । उहाँहरू त्यस ठाउँमा परापूर्वकालदेखि बसिराख्नुभएको हुन्छ, उहाँहरूलाई विगतका वर्षको बाढीबारे थाहा हुन्छ । अर्को कुरा खोलामा एकदमै धमिलो पानी आयो । त्यसमाथि गेग्रान, रुखका हाँगा, जराहरू ल्याएको छ र पानी एकदमै घटघटाहटका साथ आएको छ भने त्यहाँ बाढी आउनसक्ने सम्भावना हुन्छ । यस्तो भएमा त्यो भन्दा उच्च ठाउँ अथवा सुरक्षित स्थान कहाँ हो भन्ने पत्ता लगाएर त्यसतर्फ लाग्नुपर्छ ।

विपद् र प्रकोप

विपद् व्यवस्थापनको कुरा गर्दा हामीले विपद् र प्रकोपलाई छुट्याएर हेर्नुपर्छ । प्रकोप भनेको सामान्यतया प्राकृतिक हुन्छ । प्रकोपलाई विपद्मा परिणत हुन नदिनको लागि हो हामीले सतर्कता अपनाउने ।

बाढीको सवालमा हेर्ने हो भने पहिलेभन्दा अहिले जनधनको क्षति कम भएको हो कि भन्ने तथ्यांकले देखाउँछ । तर, अरू विपद्‌मा क्षति घटेको छैन । यसमा एउटा सूचनाको अभाव अर्को सूचना भइसकेपछि त्यो आमजनमानसमा कसरी पुर्‍याउने र त्यसलाई कसरी कार्ययोजनामा ढाल्ने तथा कसरी सम्बन्धित निकायले काम गर्ने भन्ने कुरा हुन्छ । तेस्रो कुरा जनमानस आफैंले प्रकोप, विपद्बाट हामी कत्तिको जोखिम ठाउँमा छौं, हाम्रो ठाउँ कस्तो हो भनेर आँकलन गर्नुपर्छ ।

अहिले विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले नै पूर्व तयारी, प्रतिकार्य कार्ययोजनाबारे योजना बनाउने, आफ्नो पालिका वरिपरि कस्तो जोखिम छ भन्नेबारे अध्ययन गरी समाधानतर्फ लाग्नुपर्छ ।

यस्ता घटनाबाट बच्न स्थानीय तहको भूमिका अझ महत्वपूर्ण हुन्छ । अहिले विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी भनेर स्थानीय तहलाई नै दिइएको छ । स्थानीय तहमा स्रोत साधनको व्यवस्था गरेर उहाँहरूले नै यसका लागि पूर्व तयारी, प्रतिकार्य कार्ययोजनाबारे योजना बनाउने, आफ्नो पालिका वरिपरि कस्तो जोखिम छ भन्नेबारे सबैभन्दा पहिले पालिकाले अध्ययन गर्नुपर्‍यो ।

अध्ययन गरिसकेपछि जोखिमयुक्त ठाउँ भए त्यहाँ बस्ती विकास नगर्ने, अथवा जोखिम घटाउनलाई अरू उपाय जस्तै पूर्व सूचना प्रणाली, पहिरो भए पहिरो रोकथाम गर्नेस बाढी छ भने खोलाको वरिपरि बाँधहरू बाँधेर पानीलाई गाउँतिर पस्न नदिने जस्ता काम पालिकाले गर्नुपर्‍यो । व्यक्ति स्वयंले पनि जोखिमयुक्त ठाउँ भनेर थाहा छ भने त्यस्तो ठाउँमा घर नबनाउने, पानी परेको वेला जोखिमयुक्त ठाउँमा नजाने गर्‍यो भने क्षति कम गर्न सकिन्छ ।