खहरेको लेदोले बिपि र अरनिको राजमार्गको ७ ठाउँमा अवरोध

निरन्तरको वर्षाले काभ्रे जिल्ला स्थित बिपि राजमार्ग र अरनिको राजमार्गका विभिन्न ठाउँमा अवरोध भएको छ । गएरातिदेखिको वर्षाले रोशी गाउँपालिका ७ लासकोटमा खहरेबाट लेदो आएर सडक अवरुद्ध भएको थियो । प्रहरी र स्थानीयको समन्वयले रागि १ बजेदेखि अवरुद्ध रहेको राजमार्ग विहान ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै बिपि राजमार्ग अन्तर्गत रोशी गाउँपालिका-८ नर्के, चारसय बेंशी, वडा नम्बर ९ जनविजयमंगल मावि अगाडी, वडा नम्बर ११ कालढुंगा र वडा नम्बर ११ माम्तिमा सडक अवरोध भएको छ । यता अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ बाउन्न किलोमा पनि लेदोले सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अहिले एकतर्फी सडक सञ्चालन भएको छ ।