समृद्ध महाभारत गाउँपालिका अभियान : ‘जसले रोप्छ कफीको बोट, उसलाई दिन्छ बिसको नोट’

महाभारत/जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाका विभिन्न वडाहरुमा कफी खेति शुरु गरिएको छ । दुर्गम बस्तिमा कफीको ब्यवसायीक खेतिबाट स्थानीयहरुले मनग्य आयआर्जन गर्न थालेका छन् । कफी खेतिको ब्यवसायीकरण, बजारीकरण प्रवद्र्धन लगायतका कार्यमा महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड सक्रिय भएको छ ।
गाउँपालिकाको वडा नम्वर ६ मा रहेको उक्त सहकारीले कफी खेति गर्ने कृषकहरुका लागि सामाग्री उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्ट, वडा अध्यक्षहरु, कर्मचारीहरु, सहकारीका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो । आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायीक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

पालिका भित्रका सबै वडाका ८० जना कृषकलाई पल्पर मेसिन, एक सय जना कृषकलाई कफी राख्ने जाली, पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडर सहितका सामग्री वितरण गरिएको अध्यक्ष जिम्बाले बताए । सोहि अवसरमा सहकारीले गरेका गतिविधीहरुका साथै सार्वजनिक सुनुवाई गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकको आर्थिक सहयोग, महाभारत गाउँपालिकाको समन्वय तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड महाभारत ६ को आयोजनामा उक्त सामाग्री वितरण गरिएको हो । क्रमशः अन्य किसानहरुलाई पनि प्रविधि सहितका सामाग्रीहरु उपलब्ध गराउने तथा सीप उपलब्ध गराईने उपाध्यक्ष सागर मोक्तानले बताए । महाभारतका विभिन्न वडाहरुमा १ हजार ४ सय ३३ रोपनीमा कफी खेति भईरहेको छ । बैकल्पिक पेशाका रुपमा पालिका भित्रका १२ सय भन्दा धेरै कृषकहरु उक्त खेतिमा संलग्न भएका छन् ।

कफी खेति गर्ने कृषकहरुलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्टले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्रै ८० हजार बिरुवा वितरण गरिएको हो । कफीको ब्यवसायिक उत्पादनका लागि वडा नम्वर ३, ५ र ८ मा नर्सरी शुरु गरिएको छ । कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाले बताए । परम्परागत रैथाने खेति मकै, कोदो तथा अन्य खाद्यान्न बाली छाडेर कफीखेतीमा कृषकहरु आकर्षित हुँदै गएको सहकारीका अध्यक्ष हस्त दर्लामीले बताए । कफी विक्रीबाट महाभारत गाउँपालिकाका कृषकहरुले यो वर्ष ५ करोड भन्दा धेरै रकम प्राप्त गरेका छन् ।

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि महाभारत ५ र खानीखोला गाउँपालिका २ नम्वर वडालाई कफी उत्पादनका लागि छनोट गरेको छ । महाभारतमा उत्पादन भएको कफी जापान पठाउने गरिएको ब्यवासायीले बताए । महाभारतमा पल्पिङ सेन्टर स्थापना पछि किसानले बोक्रा फालेर प्रशोधन अघि बिक्री गर्दा प्रतिकेजी पाँच सय देखि छ सय ५० रुपैयासम्म पाउने गरेका छन् । कफी लगायतका स्थायी र दिर्घकालीन ब्यवसायबाट महाभारतलाई समृद्ध बनाउने नीति गाउँपालिकाले लिएको अध्यक्ष जिम्बाले बताए । गाउँपालिकाले आगामी वर्ष देखि जसले रोप्छ कफीको बोट उसलाई दिन्छ बिसको नोट अभियान शुरु गरिएको अध्यक्ष जिम्बाले बताए ।