काभ्रेमा उद्धारमा खटियो सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेड क्वाटर काभ्रेबाट २० जनाको टोली उद्धारमा खटिएको छ । सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र खड्काको कमाण्डमा आवश्यक विपद उद्धार सामाग्री सहित २० जनाको टोली जिल्लाको विभिन्न स्थानमा खटिएको हो ।

विपि राजमार्ग स्थित चिउरीबास, भ्याकुरे, लास खोला, कालढुंगा क्षेत्रमा अविरल वर्षाका कारण ढुंगा, पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको तथा हुन सक्ने सम्भावित विपद् सम्बन्धी घटनाहरुको स्थलगत अनुगमन, अन्य सरोकारवाला निकायसँग समन्वय तथा उद्धारका लागि टोलि खटिएको हो । यता, धनेश्वर मन्दिर नजिकै रहेको सुरक्षण मुद्रण प्रेस बनिरहेको भवनसँगै शशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेको मनसुनजन्य विपद उद्धार अस्थायी वेश बसेको छ । असार २ गते देखि पनौती नगरपालिका वडा नम्वर ५ स्थित साविकको आईटी पार्क हालको सुरक्षण मुद्रण प्रेस रहेको भवनमा शसस्त्रको टोली बसेको हो ।

टोलीले बनेपा आसपास तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा हुने मनसुन विपदमा उद्धार गर्नेछ । शशस्त्र प्रहरी निरिक्षक विदुर कार्कीको नेतृत्वमा २५ जना शशस्त्र प्रहरीहरुको उद्धारका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहितको टिम तयारी अवस्थामा रहेको छ ।

शशस्त्र प्रहरीले जनशक्ति सहित आवश्यक पर्ने उद्धारका सामाग्रीहरु पनि तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख र संचालन हुने गरी अस्थायी क्याम्प उक्त स्थानमा बस्न शुरु गरेको हो ।

पाँचखालमा रहेको हेडक्वाटरबाट उद्धारका लागि खटिनु पर्दा सडक र दुरीका हिसावले समेत कठिनाई भएकाले सुरक्षण मुद्रण प्रेसमा अस्थायी क्याम्पका रुपमा बस्नु परेको शसस्त्र प्रहरीले बताएको छ । प्रहरीले मनसुनजन्य विपदका लागि टोल फ्रि नम्वर १११४ उपलब्ध गराएको छ भने ०११–४९९३२० मा फोन गर्न सक्ने ब्यवस्था मिलाएको छ । नेपाल प्रहरीको १०० नम्वर तथा आवश्यक स्थानमा फोन गरेर संकटमा उद्धारका लागि खवर गर्न सकिने बताईएको छ ।