४० प्रतिशतले घट्यो सुनको आयात

काठमाडौं / चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर दुई हजार ६५१ केजी सुन आयात भएको छ। यो २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपैयाँ बराबरको हो।

गत वर्ष यो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपैयाँको सुन आयात भएको थियो। यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभर ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो। 

यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ। विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ। गत वर्ष यो अवधिमा दुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको थियो।