सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्ला भई बहने नदीहरुको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान

आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने पुर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर नदी तटिय क्रियाकलापमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । यस्तै आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बग्ने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा भएको र थप वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

यस्तै आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।