बनेपाको प्राचीन बाटोलाई प्राचीन सम्पदा मार्ग घोषणा किन गर्ने?

बनेपाको शिक्षा सदन स्कुल अगाडि हाल बनेको द्वार देखि चण्डेश्वरीसम्मको प्राचीन बाटोलाई प्राचीन सम्पदा मार्ग घोषणा गर्नुपर्दछ भन्ने माग जायज एवं महत्वपूर्ण छ। यो मार्गको दायाँबायाँ बनेपाको पुरानो बस्ती छ। त्यस बस्ती भित्र विभिन्न अमूल्य सम्पदाहरू रहेका छन । प्राचीन समयदेखि अर्थात् बनेपामा बस्ती बसेसँगै यहाँका मानिसहरूले यो बाटोलाई प्रयोग गरेको पाइन्छ। यही बाटो भएर चण्डेश्वरी मन्दिर दर्शनका लागि जाने र यही मार्ग भएर बनेपा वरपरका आफ्ना खेतबारीमा काम गर्न जाने यही बाटो प्रयोग गरेर ढुङ्गेधारा वा पँधेराहरुमा पानी भर्न जाने, यही बाटो भएर जंगलमा गएर घाँस दाउरा गर्न जाने गर्दथे । त्यो मात्र होइन यही बाटो भएर बनेपाको सबभन्दा ठूलो जात्रा चण्डेश्वरी माईको प्रसिद्ध जात्रा लगायत बनेपाको मौलिक संस्कृतिक प्रस्तुतिहरू पनि सञ्चालन गरिन्छ। त्यसैले यो बाटो पुरातात्विक र सम्पदाको हिसाबले पनि महत्वपूर्ण रहेको छ। मल्लकालीन समयमा नै काठमाडौँ उपत्यकाबाट बनेपा यही बाटोबाट प्रवेश हुने र यही बाटो भएर काठमाडौँ र बनेपाका व्यापारीहरु तिब्बतमा व्यापार गर्न जाने तिब्बती व्यापारीहरू पनि साँखु पछि यही बाटो भएर काठमाडौँ उपत्यका र भारतसम्म जाने गर्दथे । थुप्रै कारण छन जसलाई सम्पदा मार्ग घोषणा गर्नुपर्ने आवश्यकता देखिन्छ। यो घोषणाले समग्रमा बनेपाको हित हुने कुरामा दुई मत छैन। यो आवाज सुनुवाई भयो भने यो सडकलाई सम्पदा मार्ग घोषणा भयो भने यसले कसरी फाइदा पुर्याउँदछ त निम्न बुँदाहरूमा जान्न सकिन्छ।

१) बनेपाको संस्कृति र इतिहासको संरक्षण
प्राचीन बाटोहरूले हाम्रो पुर्खाहरूको जीवनशैली संस्कृति र इतिहासको बारेमा ठूलो जानकारी दिन्छ यो बाटोलाई सम्पदा मार्ग घोषणा गर्दा यसको संरक्षण गर्न मद्दत मिल्दछ। आगामी पिँढीले पनि यसको महत्व बुझ्न सक्दछन । साथै यसका वरपर रहेका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, चैत्य एवं प्राचीन घरहरू लगायतका पुरातात्विक सम्पदाको हिसाबले महत्वपूर्ण यी चिजहरूको संरक्षण सम्बर्धन विकास गर्नको लागि महत्वपूर्ण टेवा पुर्याउँदछ। बनेपाले आफ्नो प्राचीन स्वरूप कायम राख्दछ।

२) पर्यटनको विकास
प्राचीन बाटोहरूलाई सम्पदामार्ग घोषणा गरेपछि सम्पदा संरक्षण त छँदैछ भत्किएका रुग्ण भएका सम्पदाहरूलाई पुरातात्विक हिसाबले पुननिर्माण गर्ने काम पनिअगाडि बढ्दछ र त्यस्ता सम्पदा हेर्नका लागि यहाँ आन्तरिक एवं बाह्य पर्यटकहरूको आकर्षण बढ्दछ । पर्यटकको आगमनले गर्दा यहाँका स्थानीयहरूको आर्थिक विकासमा पनि योगदान पुर्याउँदछ। साथसाथै यहाँका स्थानीय जात्रा पर्वहरू जीवन्त रहनेछन् भने यहाँको भाषा, भेष, खाना संस्कृतिको प्रचार संसारमै हुनेछ।

३) स्थानीयमा जागरण पहल र सहभागिता बढ्दछ
यसरी प्राचीन बाटोहरूको संरक्षण गर्न स्थानीय जनताको सहभागिता र स्वामित्व आवश्यक हुन्छ । यो घोषणाले स्थानीय मान्छेहरूमा जागरुकता र सम्पदा संरक्षण गर्ने लहर आफ्नो सम्पदा र संस्कृतिप्रति अपनत्व बढ्दछर उनीहरूलाई यसको महत्वको बारेमा थाहा हुन सक्दछ। स्थानीयमा सम्पदा संस्कृति जोगाउनुपर्दछ भन्ने जागरण ज्ञान बढाउन सकियो भने यहाँको सम्पदा र संस्कृति दीर्घकालीन रूपमा जीवन्त रहिरहन्छ।

४) सम्पदा संरक्षण नीति
नेपालजस्तो देशमा झन् प्राचीन सम्पदाको महत्व धेरै छ। यस्तो घोषणाले सरकार र सम्बन्धित निकायहरूलाई यसरी प्राचीन बाटोहरू साथसाथै सम्पूर्ण सम्पदाहरूको संरक्षण गर्नुपर्ने आवश्यकताको बारेमा सम्झाउन सक्दछ यसले नयाँ नीति र कार्यक्रमहरु बनाउन मद्दत मिल्दछ।

५) पुरानो बाटो एवं यहाँका घरहरूको पुनर्निर्माण प्राचीन शैलीले नै हुन्छ
प्राचीन अवस्थामा स्थानीय स्रोत र स्थानीय श्रमदानबाट हाम्रा पुर्खाले ढुङ्गा इट्टाहरू छापेर ढल निकासको व्यवस्था गरेर यो बाटो निर्माण गरेका थिए। अहिले विकासका नाउँमा यो बाटोको पुरानो स्वरूप बिगारेर नयाँ हिसाबले पुननिर्माण गरिएको छ। यदि यो बाटो सम्पदा मार्ग घोषणा भयो भने यो बाटो र बाटोका साथसाथै यहाँका मानिस बस्ने घरहरू समग्रमा बनेपाको पुरानो बस्तीले प्राचीन स्वरूप र यसको आफ्नो गुमेको वैभवता पाउँदछ।

यसरी प्राचीन बाटोलाई सम्पदामार्ग घोषणा गर्ने आवाज एकहिसाबले सांस्कृतिक,आर्थिक र सामाजिक रूपमा ठूलो महत्व राख्दछ । यसले बनेपाको सभ्यता हाम्रा पुर्खाले निर्माण गरेको धरोहरहरूको भव्यता जोगाउन मद्दत गर्दछ । हामी पछिका नयाँ पिढीले पनि आफ्नो सभ्यता संस्कृति सम्पदाको बारेमा राम्रोसँग बुझ्न पाउनेछन् । सम्पदा मार्ग हिँड्दै गर्दा मनबाट गर्व गर्न सक्नेछन । र अर्काे महत्वपूर्ण कुरा बनेपाको प्राचीन बस्तीलाई र यहाँका सम्पदाहरूलाई निकट भविष्यमै विश्व सम्पदा सूचीमा राख्न पहल पनि गर्न सकिनेछ।यसका लागि स्थानीय तह बनेपा नगरपालिका, सम्पदालाई जोगाउन राज्यद्वारा स्थापना गरिएको पुरातत्व विभाग एवं स्थानीय जनता, अभियन्ता एकआपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।(लेखक सम्पदा जोगाउन अभियानका अभियान्ता हुन् ।)