बाढी-पहिरोका कारण देशभर २० राजमार्ग अवरुद्ध

भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न २० ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

अविरल वर्षापछि पहिरो जाँदा अरनिको राजमार्ग सहित देशका २० वटा राजमार्गमा यातायात अवरुद्ध भएको छ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।

सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

पाँचखाल नगरपालिका(८ स्थित सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो। गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन्।

साना सवारीसाधनलाई वैकल्पिक बाटोबाट पठाएको प्रहरीले जनाएको छ।

सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ।

ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।

उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ।

यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ।

पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रुपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार साँझ विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।