अनेरास्ववियुले गर्‍यो उत्कृष्ट विद्यार्थी र विद्यालयहरुलाई सम्मान

बनेपा÷एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एसईई उर्तिण विद्यार्थी र विद्यालयहरुलाई सम्मान गर्दै विद्यार्थीहरुको बाँकी शैक्षिक गन्तब्य सहितको जीवनका लक्ष्यहरु निर्धारण गर्ने गरी ‘क्यारियर काउन्सिलिङ्ग’ गराएको छ ।
अध्यक्ष मिलनकुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले विद्यार्थीहरुलाई देशको नेतृत्व गर्न सक्ने सक्षम जनशक्तिका रुपमा तयार हुन मेहनत, इमान्दारिता र लगनशिलताका साथ अध्ययन गर्न सुझाव दिए । ‘शिक्षाको स्तर खस्कनुमा एउटा पक्ष मात्रै दोषि छैन’–नेता बास्कोटाले भने–‘विद्यार्थीहरुले राम्रो सँग अध्ययन नगरिदिँदा, अध्ययन गर्ने वातावरण विद्यालयले तयार नगरिदिँदा, अभिभावहरुले विद्यालय र विद्यार्थी प्रति निगरानी नगरिदिँदा, राज्यले शैक्षिक वातावरणका लागि आवश्यक नीति, नियम र कानूनका साथै गुणस्तरीय शिक्षाका लागि वातावरण तयार नगरिदिएका कारण शिक्षाको गुणस्तर खस्कँदै गएको छ ।’

प्रतिनिधि सभा सांसद समेत रहेका एमाले नेता बास्कोटाले बालबालिकाहरुलाई जसरी सक्षम चिकित्सक, शिक्षक जस्ता ब्यक्तिहरुले ब्यक्तिलाई राम्रो बनाउन सक्छन् त्यसरी नै राम्रो विद्यार्थीले राजनीति गर्दा मात्रै मुलुकलाई स्वस्थ बनाउन सक्ने भएकाले अध्ययनसँगै मुलुक निर्माणका लागि राजनीतिमा सक्रिय हुन सुझाव दिए ।

अनेरास्ववियु खुल्ला विश्वविद्यालय भएकाले यसमा रहन, यहि संगठित भएर अध्ययन गर्न तथा राष्ट्रियता र स्वाभिमानका साथ निरन्तर हक हितका लागि सक्रिय रहन विद्यार्थीहरुलाई सुझाव दिए । नेता बास्कोटाले विद्यार्थीहरुलाई कितावको किरो मात्रै नवनी समाजको हिरो बन्न अनुरोध गरे ।

कार्यक्रममा एमाले काभ्रे जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले अध्ययनका लागि विद्यार्थीहरु जुन मुलुक पुगे पनि सीप र ज्ञान सिकेर नेपाल फर्केर मुलुकलाई आत्मनिर्भर बनाउन अनुुरोध गरे ।

कार्यक्रममा एमाले जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका सदस्यहरु, अनेरास्ववियुका केन्द्रिय कमिटी सचिव सञ्जिव धिताल, जिल्ला प्रथम विद्यार्थी स्मृति श्रेष्ठ, अनेरास्ववियु जिल्ला उपाध्यक्ष आर्दश न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रशिक्षक विकासदेव योञ्जन तामाङले विद्यार्थीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा क्यारियर काउन्सिलिङ्ग गराएका थिए । अनेरास्ववियुले जिल्ला प्रथम, सामुदायिक तर्फ प्रथम, प्राविधिक तर्फ प्रथम, शतप्रतिशत ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका थिए । त्यस्तै उत्कृष्ट चार सय भन्दा धेरै विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।