सहकारीको निक्षेप फिर्ता गर्न माग

बनेपा/विश्वभर फैलिएको आर्थिक मन्दि, देशभर देखिएको सहकारी तथा वित्तिय क्षेत्रको संकट काभ्रेपलाञ्चोक जिल्लाका सहकारी र वित्तिय क्षेत्रमा समेत प्रत्यक्ष देखिएको छ ।
बनेपामा रहेका दर्जन सहकारी भागिसकेका छन् । केहि सहकारीका संचालकहरु थुनामा छन् । थुनामा रहेका सहकारीका संचालकहरुले लगानी गरेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्ने बताए पनि पुर्पक्षमाकारागारमारहेकाले सम्भव देखिएको छैन । केहि संचालकहरु धरौटीमा छुटेका छन् । तर पनि केहि संस्थाहरुले बचतकर्ताहरुको रकम फिर्ता गर्ने प्रयत्न गर्दा पनि सकिरहेका छैनन् । केहि संस्थाका संचालकहरुले नियतवश बचत रकम फिर्ता गरेका छैनन । केहिले चाहेर पनि सकिरहेका छैनन । बनेपामा रहेको नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत फिर्ताका लागि बागमती प्रदेश मन्त्रालयको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा निवेदन दिएका छन् । बनेपामा रहेको कार्यालयमा पटक पटक बचत फिर्ताको माग गर्दा समेत रकम फिर्ता नपाएको भन्दै सहकारीमा आवद्ध १ सय २७ जना बचतकर्ताहरुले १८ करोड ८६ लाख ८७ हजार ९ सय १६ रुपैया बचत फिर्ता गराई दिन अनुरोध गरेका छन् ।
सहकारी कार्यालय, बागमती प्रदेश कार्यालय, नगरपालिका तथा सम्वन्धित कार्यालयहरुमा पुग्दा समेत बचत रकम फिर्ता हुन नसकेको बचतकर्ताहरुले बताएका छन् । सहकारीका संचालकहरुले भने सहकारीमा रहेको निक्षेप रकम ऋण लगानीमा रहेको, लगानीमा रहेको रकम तत्काल उठ्न नसकेका कारण निक्षेप फिर्ता दिन ढिलाई भएको बताएका छन् । लगानीमा रहेको ऋण असुल गर्ने कार्य तिब्र बनाएकाले ऋण असुली भए सँगै भएको सम्पति समेत विक्री गरेर भए पनि सबै निक्षेपकर्ताहरुको रकम फिर्ता गर्ने संचालकहरुले बताएका छन् । ऋण असुल गरेको २ हजार रकम समेत बचतकर्ताहरुको संकट टार्न खर्च गरिरहेको उनिहरुले बताए ।पछिल्लो समय सहकारीहरुले लगानी गरेको ऋण असुली हुन नसक्दा अधिकांश सहकारीहरुलाई निक्षेप फिर्ता गर्न कठिनाई भएको छ ।