'प्रसिद्धि' भित्र डुब्दै जाँदा

“चुस्छन् र आँत भर्छन् हौ होशियार ए नारी
सक्दो प्रयोग गर्छन् हौ होशियार ए नारी ।।”
पुस्तकको सुरुमै गजल सम्राट मानिने वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले उल्लेखित मतला राख्दै गरिएको पुस्तकको चिरफार देख्न सकिन्छ । यसबाट हामी सहजै अड्कल लगाउन सक्छौँ कि नारी सर्जक भएको कारणबाट पनि पुस्तकमा नारी आवाज बुलन्द गरिएको छ ।
“कुनैबेला यस्तो पनि समय थियो कि- “लौन गजलको यो लहर चलेको बेला मलाई पनि गजल लेख्न मन लाग्यो । कसरी के गरि लेखौँ केही आइडिया दिनुपर्यो” भन्दै आउँथे म कहाँ युवा-युवतीहरू । मोटामोटी जानकारी पाएकै भरमा गजल लेख्ने त गर्थे तर अपवादका केही अत्यल्प गजलकार बाहेक अधिक संख्यक युवा गजलकारहरूबाट चै निराश नै हुने गरिन्थ्यो । अब स्थितिमा केही सुधार आएको देखिन्छ नेपाली गजल क्षेत्रमा । सुशिला विष्टको प्रस्तुत गजल सङ्ग्रह ‘प्रसिद्धि’ ले पनि यही कुराको सङ्केत गरिरहेछ ।” गजलकार पौडेलले अगाडी भनेका छन् ।
पाना पल्टाउन श्रीगणेश गर्दै यति पढ्न पाएपछि पुस्तकको बारेमा थप कौतुहलता हुनु र अर्को पाना पल्टाउन हतार हुनु स्वभाविकै हो । उसो त काभ्रेली भूमिमा पदार्पण भएकी पछिल्लो समयमा निकै ऊर्जाशील कवि सुशीला विष्ट नेपाली साहित्यमा राम्रै स्थान ओगट्ने गरि सक्रिय भएकी छिन् । चोटिला काव्य रचना गरि वाचनमा समेत न्याय दिनसक्ने सर्जक विष्टको पहिलो कृति भएकाले पनि पुस्तकप्रति हामीजस्ता आम पाठकले राम्रै अपेक्षा सङ्गाल्नु स्वभाविकै हो । काव्य गुञ्जन, हातेमालो साहित्य संगम, काभ्रे लगायतका मञ्चहरूमा देखिने/सुनिने नाम पुस्तकका पाना भएर आउँदा कसरी आइन् त ? पाना पल्टाएर हेरम् ।
“प्यार आफ्नो बाग खोज्दै डुल्न थाल्यो छल गरेर ।
स्वच्छ सुन्दर मन बिगारे फूलका ती बासनाले ।।” (पृ.स:१)
विभिन्न भिन्न बहरका ९६ थान गजलहरू सङ्ग्रहित सङ्ग्रहको पहिलो गजलको रूपमा ‘बहरे रमल’ नामक बहरमा माथीको शेर सहितको गजल समावेश छ । विष्टले पहिलो गजलको रूपमा प्रेमको प्यासी भएर प्रेमिल संवेदनाहरूलाई बहरको नियमा बाँधेर छताछुल्ल पोखेकी छिन् । उसो त फारसी, उर्दु, हिन्दी हुँदै नेपाल भित्रिएको काव्य विधा अन्तर्गतको गजल विषयवस्तुको प्रेमिल प्रस्तुति मानिन्छ । उठान गर्न खोजिएको विषयलाई प्रेमिल रस हालेर पाठकको जिब्रोमा स्वाद भर्न सक्नु गजलको विशेषता नै हो । भनिन्छ एउटा गजलले फरक फरक शेरमार्फत फरक फरक विषय बोल्नसक्ने र छोटोमा ट्वाच्च मस्तिष्कमा हान्नसक्ने खुबी भएकैले सिङ्गो आख्यान बोक्नसक्छ । यहाँ ९६ थान गजलले ९६ आख्यान बोकेको छ त ? हेर्दै जाऊँ है त ।
“अरुको त्यसै पेट भर्दैन मान्छे ।
बिना फाइदा काम गर्दैन मान्छे ।।” (पृ.स:२)
पहिलो गजलमा मायाप्रेमको वर्णन गरेकी सर्जकले दोस्रो गजलमा भने मुतकारिब मुसम्मन सालीम बहर मार्फत दिनानुदिन हराउँदै गएको मानवीय संवेदना र जिर्ण बनेको सम्बन्धप्रति दु:ख पोखेकी छिन् । भाइचारा, आपसी मेलमिलाप र मानव भएर जिउन आह्वान गर्दै उनले यस गजलमार्फत मानवीय चरित्र र वर्गीय संघर्षको वकालत गरेकी छिन् ।
यसरी कतै नारीस्वर गुञ्जायस गर्दै त कतै मानवीय चरित्रको पर्दाफास गर्दै अनि कतै राज्य व्यवस्था, सरकार, समाज माथि असन्तुष्टि पोख्दै त कतै प्रकृति वर्णन, कला, भाषा, संस्कृतिको चित्रण गर्दै अनेक स्वादमा आफ्नो कृतिलाई सु-सज्जित गरिएको देखिन्छ ।
“ऊ हो समाजसेवी सेवा गरेर हिँड्छ ।
उठ्छन् सवाल थुप्रै केले महल उठायो ।।”
बाटो कतै नपाए नेता सबै हुने रे ।
सोचेँ अचेल जमाना कस्तो अचम्म आयो ।।” (पृ.स:१७)
विभिन्न चरित्र तथा वर्तमान समाज, व्यक्ति र उनीहरुको खोक्रो समाजसेवा, आदर्शतामाथी खरो व्यङ्ग्य गर्दै कृतिकारले समाज रुपान्तरणको लागि अपिल समेत गरेकी छिन् ।
उसो त पुस्तकमाथी धेरै भनिरहनुपर्ने र शेरैपिच्छे व्याख्या गरिरहनुपर्ने थलो न यो हो न त आवश्यक नै हो । पाठकले पढ्दै जाँदा, गहन भावहरूसङ्ग खेल्दै जाँदा आफै बुझ्ने र रमाउने विधा हो गजल । निकै सरज, सरस र सहज लाग्ने शेरहरूमार्फत यो देश बोलेको, यो समाज मुस्कुराएको र एउटी नारीले आफ्नो आवाज बुलन्द गरेको विषयहरू रोचक ढङ्गबाट देख्न/पढ्न सकिन्छ ।
“मल्हम लगाउँदैनन् देख्नेहरू कसैले ।
घाउ चलाइ नुनचुक दल्ने हजार हुन्छन् ।।” (पृ.स:९६)
एकपछि अर्को पत्रहरू उप्काउँदै गजलरुपी काव्यीक स्वादको रसपान गर्दै अन्तिम पृष्ठसम्म पुग्दा मानवीयता हराउँदै गएको, स्वार्थउन्मुख भएको र एक अर्काको अप्ठ्यारोमा सहयोगी बन्न नसकेको वर्तमान समाजसङ्ग रोष व्यक्त गर्दै सबैलाई सचेत भएर बाँच्न र एक अर्कासङ्ग हातेमालो गर्दै सहज जीवनयापन गर्न अनुरोध गरेकी देख्न सकिन्छ ।
अन्त्यमा: एउटा साहित्यको अनुयायी अनि पाठक भएको नाताले पाठकीय प्रतिक्रिया दिनुपर्दा गजलकार सुशीला विष्टको पहिलो कृती ‘प्रसिद्धि’ले उनलाई साच्चिकै प्रसिद्धिको शिखरमा पुर्याउने आँकलन गर्न सकिन्छ । बहरको अनुशासनको सीमाभित्र रही गति, यति, लय, भाव सबै कुरामा अब्बल सन्देशमुलक गजलहरूको सङ्गालो किनेर पढिदिन आम साहित्यप्रेमी महानुभावहरूमा सिफारिस साथ अनुरोध गर्दै विष्टको आगामी कृति, साहित्य यात्रा, साधना र सक्रियताको लागि शुभेच्छा प्रकट गर्दै समग्रमा आभार व्यक्त गर्दछु ।