बनेपाको एबिएम स्कुलले प्राप्त गर्यो 'आइएसओ सर्टिफिकेट'

बनेपाको आदर्श विद्या मन्दिर (एबिएम) स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सर्टिफिकेट) प्राप्त गरेको छ । आज एक औपचारिक कार्यक्रमकाबीच आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिका प्रमुख एवं आइएसओका प्रतिनिधि शैलेन्द्र खरेल, आइएसओका प्रतिनिधि रामहरी रिजाल, राज खतिवडा, प्याब्सनका केन्द्रिय महासचिव भिमसेन केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काभ्रेको विद्यालयले शिक्षा क्षेत्रमा गुणस्तरीयताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु गौरवको विषय भएको बताए । शिक्षाको विकासबिना अन्य क्षेत्रको विकास सम्भव नरहेको उनको भनाई थियो । समन्वय समिति प्रमुख गौतमले नैतिक तथा व्यवहारिक शिक्षामा जोड दिन समेत आग्रह गरेका छन ।

विद्यार्थीले प्राप्तांकसँगै व्यवहार, अनुशासनमा पनि उत्कृष्टता हासिल गर्नुपर्ने उनको भनाई थियो । भर्खरै सार्वजनिक एसईईको नतिजामा काभ्रे जिल्लामा आधा विद्यार्थी अनुत्तीर्ण भएकोमा भने उनले चिन्ता व्यक्त गरेका छन । आगामी वर्ष उत्कृष्ट नतिजा प्राप्त गर्नेगरी लाग्न शिक्षक,विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन । पछिल्लो समय अध्ययनकै लागि विदेशिने क्रम बढेको भन्दै गौतमले यसलाई रोक्नका लागि पनि विद्यालय तथा क्याम्पसले प्राप्त गर्ने गुणस्तरियतको अन्तर्राष्ट्रिय मान्यताले सघाउने विश्वास लिएका छन । यस्तै एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले २०६० सालदेखि नै विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताए ।

उनले एबिएमले सिकाईमा नविनतम विधिसँगै विज्ञसँगको परामर्श र सल्लाहमा शिक्षण सिकाई गराउँदै आएको जानकारी दिएका छन । शिक्षक, विद्यार्थी र अभिभावकको लगातारको मेहनतले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता प्राप्त गर्न सफल भएको उनको भनाई छ ।
आइएसओ सर्टिफिकेट हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, ६० वटा विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल, १२ वटा क्याम्पसका क्याम्पस प्रमुख, ३ वटा पालिकाका प्रमुख एवं उप–प्रमुख शिक्षा क्षेत्रसँग सम्बन्धीत सबै व्यक्तिलाई निमन्त्रणा गरिएको विद्यालयले जनाएको छ ।
आइएसओ प्रतिनिधि खरेलले आइएसओलाई अन्तर्राष्ट्रिय गुणस्तरको चेकलिष्टका रुपमा अथ्र्याएका छन । यसले शिक्षा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको छ ।
