जिल्ला प्रहरी कार्यालयको नागरिक सुनुवाई, नागरिकले भने – ‘आत्महत्या न्यूनिकरणमा सबै पक्ष जुटौं’

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नागरिक सुनुवाईमा सहभागिहरुले आत्महत्या न्युनिकरण लगायतका अपराध न्यूनिकरणमा सबै क्षेत्रको सहभागिता आवश्यकता रहेको औंल्याए । हरेक वर्ष जिल्लामा आत्महत्या सम्वन्धिका घटनामा बृद्धि भएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका शेखरजंग चन्द , जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघ, काभ्रे उद्योग बाणिज्य संघ, धुलिखेल उद्योग बाणिज्य संघ, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरु सहभागि थिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा गरेका विभिन्न गतिविधि तथा जिल्लामा भएका विभिन्न घटनाका बारेमा प्रहरी निरिक्षक राजाराम खतिवडाले जानकारी गराएका थिए भने सहभागिहरुले राखेका जिज्ञासाका बारेमा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जवाफ दिएकी थिईन् ।

कसले के भने ?
कार्यक्रमका प्रमुख अतिथी धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नागरिकको दायित्व सम्वन्धि सचेतना बढाउनु पर्ने बताए । ‘अपराध न्यूनिकरणमा प्रहरी एक्लैको दायित्व सम्भव छैन’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘समुदाय स्तरमा सचेतना बढाउने, नागरिकहरुको कर्तब्य र दायित्व बोध गराउने, समुदायमा रहेका विभिन्न तह र तप्काका ब्यक्तिहरुसँग अन्र्तक्रिया गर्ने, सुझावहरु संकलन गर्ने र सुधार गर्दै लैजानु आवश्यक छ ।’ संविधान जारी पछि बन्नु पर्ने कतिपय कानूनहरु बन्न नसक्दा प्रहरी सम्वन्धि ब्यवस्था र प्रहरीको संरचना निर्माण हुन नसकेको नगर प्रमुख ब्याञ्जुले बताए । प्रहरीलाई प्रविधी मैत्री, अनुसन्धान केन्द्रित र नागरिकहरुलाई कर्तब्यमुखी र समुदायलाई हरेक क्षेत्र प्रति उत्तरदायि बन्ने वातावरण तयार गर्नु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । प्रहरीले खेलिरहेको भूमिका र पुरा गरेको दायित्व प्रति सन्तुष्ट रहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले अझै परिस्कृत र प्रविधिमैत्रीमा ध्यान दिन सुझाव दिए ।

विशेष अतिथी प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले नागरिकहरुको जिउधनको सुरक्षाका लागि २४ सै घण्टा खटिएको प्रहरीलाई नागरिकहरुको तर्फबाट सहयोग र समन्वय आवश्यक रहेको बताए । ‘प्रहरीले गर्ने हरेक कार्यहरु नागरिक मैत्री छन् र हुनुपर्छ’–प्रमुख जिल्ला अधिकारी सेढाईले भने–‘नागरिकहरुका हरेक समस्या समाधानका लागि प्रहरी सधै तत्पर छ । कृयाशिल छ । शशक्त छ । प्रविधी र अनुसन्धानमा समेत पोख्त हुँदै गएको छ ।’ नेपाल प्रहरी लगायत सुरक्षा निकायका सबै अंगहरुले जिम्मेवारी अनुसारको भूमिका त निर्वाह गरेकै छन् त्यो भन्दा माथि उठेर भावनात्मक, ब्यवहारिक र आवश्यकताका आधारमा राज्यका हरेक क्षेत्रमा आई पर्ने विविध विषयमा आफुलाई कृयाशिल गराईरहेको प्रमुख जिल्ला अधिकारी सेढाईले बताए । काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रहरीले नागरिकहरुको सुरक्षाका लागि अपराध न्यूनिकरणमा खेलेको भूमिकाको प्रमुख जिल्ला अधिकारी सेढाईले प्रशंशा गरे ।


प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले काभ्रेपलाञ्चोक जिल्लामा भएका विविध गतिविधिहरुलाई प्रहरीले जस्तोसुकै परिस्थितिमा पनि पुरा गर्ने प्रयत्न गरेको बताईन् । ‘नागरिकहरुको जिउधनको सुरक्षा, जिल्लामा भएका विविध घटना तथा परिघटनाहरुमा प्रहरीले शशक्त भूमिका निर्वाह गरेको छ’–प्रहरी प्रमुख एसपी खड्काले भनिन–‘अपराध अनुसन्धान तथा नियन्त्रण, दुर्घटना न्युनिकरण, नागरिकहरुलाई सचेतना र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीले जस्तो सुकै अवस्थामा समेत दायित्व र जिम्मेवारी पुरा गरेको छ ।’ नागरिकहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रहरी प्रमुख एसपी खड्काले अपराधको संख्या बढिरहेको, अपराधका बारेमा नागरिकहरुले प्रहरीलाई सूचना दिने संख्या थपिएको तथा नागरिकहरु पनि सचेत बन्दै गएको बताईन् ।


नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले प्रहरी प्रति नागरिकहरुको विश्वास बढिरहेको बताए । ‘प्रहरी प्रति नागरिकहरुको विश्वास बढिरहेको छ’–तिमल्सिनाले भने–‘नागरिकहरुले विश्वास बढाईरहेका अवस्थामा प्रहरीले प्रविधि, प्रविधिसँगै प्रभावकारी अनुसन्धान र प्रभावकारी अनुसन्धानमा नागरिकहरुको शान्ति र अमन चयनमा विशेष ध्यान दिन आवश्यक छ ।’ जिल्लामा घटेका गम्भिर र विभत्स हत्याहरुमा प्रहरीले गरेका अनुसन्धान ९५ प्रतिशत सफल भएका छन् । चोरी नियन्त्रण, आत्महत्या न्यूनिकरण तथा साईवर सम्वन्धी अपराध कम गर्न प्रहरी र समुदायसँगको हातेमालो आवश्यक रहेको तिमल्सिनाले बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्वर १० का अध्यक्ष गोविन्दप्रसाद उपाध्याय, नागरिक समाजका प्रतिनिधिहरु निर्मला काफ्ले, पम्फा पुर्काेटी, धुलिखेल उद्योग बाणिज्य संघका अनन्तकृष्ण श्रेष्ठ, धुलिखेल खानेपानी उपभोक्ता समितिका श्याम गणेजु, बाल सञ्जालका प्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुले प्रहरीसँगको अपेक्षा, समाजमा हुने गरेका अपराधमा प्रहरी र नागरिकहरुको भूमिकाका बारेमा सुझाव दिएका थिए । अधिकांश सहभागिले आत्महत्या न्यूनिकरण, यौन दुब्र्यवहार, लागु औषध नियन्त्रण, चोरी नियन्त्रणमा जोड दिए भने वित्तिय अपराध कम गराउन प्रहरीको सक्रियता आवश्यक रहेको बताए ।

काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७८/२०७९ मा ४ सय ३६, २०७९/२०८० मा ५ सय ४४ र २०८०/२०८१ मा ७ सय ५ वटा अपराधका घटना दर्ता भएका छन् । प्रहरीले हरेक वर्ष फरार प्रतिवादी पक्राउ गर्ने क्रम बढाएको छ भने हराएका ब्यक्तिहरुको खोजतलास गर्ने, महिला तथा बालबालिका र जेष्ठ नागरिकहरुहरुको क्षेत्रमा अलग्गै शाखा मार्फत सेवा प्रदान गर्ने, वित्तिय अपराध तथा समस्याका बारेमा अलग्गै शाखा मार्फत सेवा प्रदान गरिहेको छ ।