ज्योति मिर्मिरे साकोसको रजत वर्ष शुभारम्भः २४ नयाँ योजना र कार्यक्रम घोषणा

विकास तिमल्सिना

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं स्थापना दिवस विविध कार्यक्रम सहित शुभारम्भ गरिएको छ । संस्थाको मुख्य कार्यालय पनौतीमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

रजत वर्ष शुभारम्भ गर्दै महासंघका निवर्तमान अध्यक्ष कँडेलले सहकारीको सिद्धान्त नमान्ने सहकारीमा समस्या आएको बताएका छन । बचत रकम संकलन गरेर घरजग्गामा लगानी गर्ने र सहकारी सञ्चालकको निजि महत्वकांक्षाका कारण सहकारीमा समस्या आएको उनले बताए ।

अहिलेसम्म मुलुकका १ सय सहकारी संस्थाहरु नियतबस खराव काम गरेको देखिएको उनले बताए । यसलाई ट्रयाकमा ल्याउनका लागि राज्यले कडाई गर्नुपर्ने उनको भनाई छ ।

सहकारी संस्थाको सघन अनुगमनमा समेत उनले जोड दिएका छन । सहकारीले राम्रो काम गर्दा गर्दै पनि केहि सहकारीका कारण सहकारी क्षेत्रलाई नै बदनाम बनाउने प्रयास भएको कँडेलले बताए । देशभर २५ हजार सहकारी संस्थामा ७४ लाख शेयर सदस्य रहेको जानकारी दिँदै उनले जिडिपिमा ५ प्रतिशत र वित्तिय क्षेत्रमा शतप्रतिशत योगदान रहेको बताए । १ लाख भन्दा बढीलाई प्रत्यक्ष र हजारौं लाई अप्रत्यक्ष रोजगारी दिएको उनले जानकारी दिए ।

कृषि सहकारी, महिलाले सञ्चालन गरेका सहकारी, बहुउदेश्यीय प्रकृतिका संस्था, दुग्ध सहकारीमा समस्या नरहेको निवर्तमान अध्यक्ष कँडेलको भनाई छ । कार्यक्रममा साकोसका अध्यक्ष उद्धव सापकोटाले संस्थाको विगतदेखि वर्तमानसम्मको उपलब्धि र आगामी यात्राका बारेका जानकारी गराएका थिए ।

ठुला ४ वटा संस्थाको एकिकरणले सहकारी अभियान थप मजवुत बनेको अध्यक्ष सापकोटाले बताएका छन । हरेक सुख दुःखमा शेयरसदस्यसँग साकोस जोडिएको उनले बताए । उनले सामाजिक कार्यमा समेत संस्थाले उल्लेख्य योगदान पुर्याएको बताएका छन ।

प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले हालसम्म गरेका कार्यको जानकारी दिँदै आगामी योजना जानकारी गराएका छन् । उनले विद्यार्थीलाई सहकारी शिक्षा, युवा उद्यमशिलता, ज्येष्ठ नागरिक तिर्थाटन सहितका २४ कार्यक्रम सार्वजनिक गरेका छन ।

स्मारिका प्रकाशन, नयाँ थप भएको कार्यालय उदघाटन, संस्था एकिकरण, शैक्षिक विदामा बसेका विद्यार्थीहरुलाई सहकारी शिक्षा र वित्तिय परामर्शको व्यवस्था, विद्युतिय सवारी साधन तथा विद्युतिय घरायसी सामान खरिदका लागि सहुलियत ऋण लगानीको व्यवस्था गरिने नयाँ योजनामा उल्लेख छ । यस्तै एक सदस्य बरावर रु १०,००० बचत रकम पुर्याइने, युवा उद्यमशिलता सम्बन्धि यस वर्ष कम्तिमा १० वटा तालिम सञ्चालन गर्ने, व्यवसाय विकास तालिम, अन्तर लघुवित्त समूह भ्रमण,अन्तर क्लव स्तरीय प्रतियोगिता, लेख रचना प्रतियोगिता गरी उत्कृष्ट लेख रचना जेएमएस बुलेटिनमा प्रकाशन गर्ने, सदस्यको परिवार ज्योमिसाको गन्थन कार्यक्रम (यस वर्ष २०० परिवारमा जाने) लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । २०६९ साल फागुन १९ गते ४ वटा संस्था ज्योति साकोस, मिर्मिरे साकोस, सामुहिक साकोस र जागृति नमुना साकोस एकैपटक एकिरण गरेर नयाँ अभियान सुरु गरेको समेत उनले बताए ।

कार्यक्रममा साकोसका पुर्व सचिव एवं पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, वडा नम्बर ६ का वडा अध्यक्ष भिमप्रसाद आचार्य, सचिव बुद्धसिं थापा, सल्लाहकार रमेश पौडेल, तुयुकाजी ताम्राकार लगायतले सहकारीले गरिरहेका कार्यबारे धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कान्छिमैया थापाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन ऋण तथा लघुवित्त विभाग प्रमुख पुरुषोत्तम दाहालले गरेका थिए । २०५६ सालमा स्थापना भएको साकोससमा अहिले १८ हजार ३ सय १४ जना सदस्य छन । ९१ करोड भन्दा माथी बचत संकलन भएको छ भने ९४ करोडमाथी ऋण लगानी भएको छ ।

संस्थाको कुल वासलात १ अर्ब २५ करोड रहेको छ । ज्योति मिर्मिरे साकोसको मुख्य कार्यालय र सेवा केन्द्रमा गरी ४४ जना कर्मचारी कार्यरत छन् ।