एक तोला गहनाको मूल्य १ लाख ६८ हजार

काठमाडौँ / नेपाली बजारमा सुनको भाउ आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भयो । गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रबारको तुलनामा आइतबार बढेको छ । त्यसअनुसार नेपाल बजारमा पनि सुनको भाउ बढ्नुपर्ने हो । तर डलरको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा भाउ बढ्न पाएन ।
तर नझुक्किनुस्, सुनका गहना बनाउन बजार जाँदै हुनुहुन्छ भने तपार्इंले एक तोलाको गहनाका लागि कम्तीमा पनि १ लाख ६८ हजार ७ सय रुपैयाँ तिर्नुपर्नेछ । ज्याला, जर्ती, मुनाफा आदि जोडेर व्यवसायीले उपभोक्ता मूल्य अचाक्ली पुर्‍याउने गरेका छन् । ज्याला र जर्तीका नाममा १२ देखि १८ प्रतिशत जोड्ने गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ नै बताउँछ । औसत १५ प्रतिशत ज्याला–जर्ती जोड्दा उपभोक्ता मूल्य चर्को परेको हो ।