कराँते प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै भुटान प्रस्थान गरे महाभारतका सागर मोक्तान

बनेपा/२०८१ असार २९ गते देखि साउन ७ गतेसम्म मित्रराष्ट्र भुटानको थिम्पुमा आयोजना गरिएको ८ औ दक्षिण एशियाली कराँते प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिका महाभारत २ का स्थानीय राष्ट्रिय खेलाडी सागर मोक्तान नेपालको प्रतिनिधित्व गर्दै भुटान प्रस्थान गरेका छन् ।

सागर लामालाई परिवारका साथै प्रदेश सांसद ज्ञानबहादुर लामा, नेपाली काँग्रेसका क्षेत्रिय सभापति राम योञ्जन, महाभारत गाउँपालिका एमाले अध्यक्ष जगत मोक्तान, एमाले जिल्ला कमिटी सदस्यहरु, नेपाली काँग्रेसका विभिन्न कमिटीमा कार्यरत नेता तथा कार्यकर्ता र सागर मोक्तानका आफन्त तथा शुभेच्छुकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । साथै रुप योञ्जन, वडा अध्यक्ष पदम मोक्तान लगायतले पनि सागरलाई विजयीका लागि अग्रिम शुभकामना ब्यक्त गरेका छन् ।

५६ औ राष्ट्रिय खेल प्रतियोगिता २०८१ जेठ २१ देखि २३ गतेसम्म राष्ट्रिय खेलकुद परिषदमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा सागर लामाले स्वर्ण पदक जिते पछि भुटानमा हुने प्रतियोगितामा भाग लिने अवसर पाएका हुन् ।

नेपाल कराँते महासंघका महासचिव दावा गुरुङले पनि आवश्यक सहयोगका लागि बागमती प्रदेश खेलकुद परिषद्लाई अनुरोध गरेका थिए । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेलमा आयोजित कार्यक्रममा सागर मोक्तानलाई बधाई तथा शुभकामना दिएका थिए ।

महाभारतमा जन्मिएर कराँते प्रतियोगिता मार्फत गाउँपालिका र जिल्ला तथा नेपालकै नाम राख्न सफल सागर मोक्तान भुटानमा जान लागेका हुन् ।

धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनलाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले सागर मोक्तानलाई नेपालको प्रतिनिधित्व गर्दै भुटानमा जान लागेकोमा बधाई दिएका थिए । साथै उनले प्रतियोगितामा उत्कृष्टता प्रर्दशन गर्न, अनुशासन कायम राख्न र राम्रो तयारीका लागि अनुरोध गरेका थिए । यस अघि सागरलाई जिल्लाका विभिन्न कार्यक्रममा नेपालको उत्कृष्ट खेलाडी भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।