अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएपछि महिलाकै भरमा रोपाइँ

धान रोपाइँका लागि पुरुषभन्दा महिला मजदुर नै बढी सक्रिय देखिएका छन् । अधिकांश पुरुष वैदेशिक रोजगारमा गएका छन् भने गाउँघरमा भएका पुरुष पनि रोपाइँका लागि खेतमा निस्कँदैनन् । दलित विपन्न महिलाका भरमा नै रोपाइँ कार्य भइरहेको कृषकले बताएका छन् ।

हलो, गोरुको प्रयोग गर्ने समयमा पुरुष मजदुर खेतमा देखिन्थे तर अहिले गाउँ गाउँमा ट्याक्टरको प्रयोग गर्न थालेपछि महिला मजदुरले नै बेर्ना उखेल्नेदेखि रोपाइँ गर्नेसम्मका काम गरिरहेका छन् । सिराहा लहान–१३ का कृषक रघुवीर यादवका अनुसार गाउँमा काम गर्ने पुरुष कामदार नै छैनन् । भएका पुरुष मजदुर रोपाइँ कार्यमा आउन मान्दैन । महिलाकै भरमा कृषि कार्य अगाडि बढिरहेको छ ।

एक दशकअगाडि पाँच किलो धान मजदुरीमा घरमै खाना खाएर खेत रोपाइँ गर्ने महिला मजदुरलाई अहिले खानासहित नगद पाँच सय रुपियाँ वा १० किलो चामल मजदुरी तिर्दा पनि मजदुर पाउन मुस्किल भइरहेको सखुवानानकरपट्टी–३ का अर्का कृषक तिरपितलाल यादवको भनाइ छ ।

साउन ४ गतेसम्मको तथ्याङ्क अनुसार ७७ प्रतिशत रोपाइँ भएको छ  । साउन १५ गतेसम्म ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष ६५ प्रतिशत रोपाइँ मात्र भएको सिराहामा यस वर्ष रोपाइँ प्रतिशत बढेको ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र महासेठले जानकारी दिए ।