धार्मिक पुस्तकालय स्थापना

म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर क्षेत्रभित्र चन्दा सहयोग जुटाएर धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।

गलेश्वरमा आयोजना हुने धार्मिक कार्य तथा अनुष्ठानमा पुस्तकको अभाव नहोस् भनेर गलेश्वर शिवालय क्षेत्र विकास कोषले सहयोग जुटाएर पुस्तकालय स्थापना गरेको हो ।

पुस्तकालय स्थापना भएपछि गलेश्वर दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। भारतको वनारसमा प्रकाशन भएका सक्कली पुस्तकहरु खरिद गरी पुस्तकालयमा राखिएको उनले बताएका छन । ।

उहाँका अनुसार पुस्तकालयमा १८ पुराण, उपपुराण, चार वेद, भागवतगीता, उपनिषद्, धर्मसिन्धु, निर्णयसिन्धु लगायतका पाँचसय धार्मिक पुस्तक राखिएका छन् । बाहिरी जिल्लामा समेत आयोजना हुने धार्मिक काममा पुस्तकको अभाव भएमा पुस्तकहरु लैजान सकिने व्यवस्था मिलाइएको अध्यक्ष रेग्मीले बताए।

मुक्तिनाथ प्रवेशद्वारसमेत रहेको गलेश्वरमा आउने भक्तजनले पुस्तकालयमा बसेर धार्मिक पुस्तक अध्ययन गरेर जाने गरेको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

पुस्तकालय स्थापनाका लागि धवलागिरी गाउँपालिका –७ ताकम निवासी हाल अमेरिकामा बस्नुहुने रघुनाथ सुवेदीले ४ लाख ४५ हजार र अन्य सहयोग दाताबाट गरी ६ लाख ३० हजार रुपियाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष रेग्मीले बताएका छन। पुस्तकालयको संरचना बनाउन ३ लाख ४५ हजार र २ लाखको भारतबाट पुस्तक खरिद गरिएको बताएका छन ।