साउने व्रत हरियो पहिरन

साउन महिना सुरुवात हरियाली सँगै नेपाली बजारका कस्मेटिक पसलहरू जताततै हरियो चुरा धागोले सजिएको हुन्छ । यसै गरि लुगा पसल हरियो लुगा डमीहरुमा सजाएको हुन्छ । नेपाली पर्व अनुसारका डिजाइन गरिएका महिलाहरूका लागी आकर्षक लुगाहरू बाहिर देखिने गरि सजाउने यो व्यापारिहरूको कला हो। साउन महिनामा हरियो पहिरनमा हातमा मेहन्दी लगाएर विवाहित महिलाहरू आफ्नो पतिदेवको दीर्घायुको कामना गर्दै शिव मन्दिरहरूमा पूजाआजा गर्ने गर्दछन् यो हिन्दु धर्म संस्कार हो । अहिले धर्म निरपेक्ष राज्य भए पछि जुन सुकै वर्ग समाज धर्मावलम्बिहरु पनि लहै लहमा आफ्नो साथी सँगिनीहरूका साथ देव देवालय मन्दिरहरूमा पूजाआजामा सबै समुदायका मानिसहरू साथ हिँडेको पाउँछौ ।
विवाहित महिलाहरू साउन महिनामा शाकाहारी भोजन गरि महादेव तीर्थस्थल दर्शन गरेर भजन कीर्तनका साथ आफ्नो श्रीमान् प्रति श्रद्धा भाव समर्पणमा कठोर व्रत बसेका हुन्छन् ।महादेव पति पाउन पार्वतीले गरेको व्रत विधिलाई अविवाहित महिलाहरू यसलाई अनुसरण गरेको पाउँछौ । धर्म कर्ममा विश्वास राख्ने नेपाली समाजमा हाम्रा चेलीबेटीहरू व्रत बसे पछि विवाह गर्न योग्य परिपक्व भएको अवस्था पनि जनाउँछ । विवाह भन्दा अगावै आफ्नो श्रीमानलाई गर्नु पर्ने मान मर्यादा हाम्रो धर्म संस्कारले सिकाएको हुन्छ ।
महिलाहरू साउन महिनामा हरियो पहिरनमा किन सजिन्छन् ?
चाडपर्व अनुसार साउन महिनामा चुरा धागो हरियो पहिरनमा सजिनु महिलाहरू प्रकृति स्वभाव हो । पुरुष आफूतिर आकर्षित रहोस् भन्ने पनि हो । विवाहित महिलाहरू आफ्नो श्रीमान् प्रति सधैँ शंकालु, ईष्र्यालु भएर तनावमा रहेका हुन्छन् । आफ्नो श्रीमानलाई सधैँ भरी आफ्नो बहस भित्र राख्न लालायित हुन्छन् । त्यसको लागि आफू जस्तो सुकै धार्मिक कर्म गर्न व्रत बस्न महिला तत्पर हुन्छन् । पार्वतीले महादेव श्रीमान् पाउन गरेको कठोर व्रत, अहिले फेसन रूपमा विकास भएको पाउँछौ । जुनसुकै वर्गका महिलाहरू पनि साउन महिनामा महादेवको व्रत बसी हरियो पहिरनलाई बढवा दिएको पाउँछौँ।

आर्थिक बन्दीको असर
छिमेकी राष्ट्र भारतबाट केहि प्रतिशत सामानहरू आयातित साउने महिलाहरूको फेसनको विषयमा सामाजिक सञ्जालबाट व्यापक विरोधको कारण पनि होला क्रमशः सुधार उन्मुख खर्च कटौतीहरू हुँदै आएका छन । साथै देशमा आर्थिक मन्दीको कारण यो वर्ष महिलाहरू फजुल खर्चमा उत्साहित भएका देखिँदैन। यस वर्ष महिलाहरू साउने हरियाली पहिरनमा महादेव स्थानहरूमा त्यति धेरै भिडहरू देखिएका छैनन् । साउन महिनामा घर घरमा सासू,बुहारी र नातिनीहरू समेत हरियाली पहिरन फेसनको रूपमा किन प्रयोग गर्छन् । आफूहरूलाई जानकार नभए पनि सोखको भरमा हरियो पहिरन नारी सौभाग्य ठान्दछन् । धर्ममा आस्था र विश्वासका कारण हाम्रो कला संस्कृति रीति रिवाज चाडपर्वलाई जगेर्ना गर्दै आइरहेका छन् ।
घर समाज र कार्यालयहरूमा समेत नारीहरूलाई आआफ्नो सामाजिक पहिरनको लागि छुट छ । त्यसैले गर्दा नेपाली धार्मिक सम्पदाको नाममा महिलाहरू बढी सुविधा भोगी भएर अनेकौँ चाडपर्व विवाह समारोह आदि इत्यादि कार्यक्रमहरूमा महिलाहरु सामुहिक एउटै पहिरनमा सहभागी खर्चालु भएको पाउँछौँ। जे होस आफ्नो श्रीमतीले गरेको भक्ति भाव प्रति हिन्दु समाजको पतिहरू खुसी नै हुन्छन् । पुरुषहरू देखावटी माया जाल भन्दा श्रीमती सँगको प्रगाढ सम्बन्ध बनाउन चाहन्छन् । अन्य महिनामा भन्दा वा अन्य समयमा भन्दा साउन महिनामा चाँहि पुरुषहरु पनि ब्रत बसेका हुन्छन् । हाम्रो धार्मिक सम्पदाले श्रीमान्, श्रीमतीको सम्बन्ध प्रगाढ राख्ने धार्मिक रीति रिवाज पर्वहरूलाई हाम्रो समाजले बिर्सनु हुँदैन । (उल्लेखित शब्द र धारणा लेखकका नीजि विचार हुन् ।)
बनेपा १४, साँगा