संयुक्त राष्ट्र संघ र धुलिखेल अस्पतालबीच सहकार्य

धुलिखेल/ संयुक्त राष्ट्र संघ र धुलिखेल अस्पतालबीच नेपालको स्वास्थ्य सेवा प्रवाहलाई रूपान्तरणसहित दिगो विकासको लक्ष्य अघि बढाउन रणनीतिक सहकार्यमा हस्ताक्षर भएको छ । नेपालमा स्वास्थ्य सेवाको रूपान्तरण गर्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल) हासिल गर्न विज्ञता आदानप्रदान गर्ने गरी सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको हो ।
साझेदारी कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्र संघ को आवासीय संयोजकको कार्यालय र संयुक्त राष्ट्र संघ का चार संस्थाहरू (युएनएफपिए, युनिसेफ, आइओएम, डब्लुएचओ) ले अस्पतालसँग संयुक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा नेपालस्थित संयुक्त राष्ट्र संघ का आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भनिन्, ‘नेपालमा सस्टेनेबल डेभलपमेन्ट गोल ९एसडिजी० हासिल गर्न विभिन्न क्षेत्रसँग बलियो साझेदारी आवश्यक छ । हामी आशावादी छौँ कि धुलिखेल अस्पतालसँगको सहकार्यले स्वास्थ्य सेवा सुधार गर्न, जनस्वास्थ्य समस्या सम्बोधन गर्न र साझा विशेषज्ञता र सहयोगी प्रयासमार्फत अन्ततः सबैका लागि सुलभ स्वास्थ्य सेवाको प्रयासमा उत्कृष्ट परिणाम हासिल हुनेछ ।’
उनले संयुक्त कार्यक्रममार्फत, संयुक्त राष्ट्र र धुलिखेल अस्पतालले कोभिड–१९ पछिको रिकभरी र लचिलोपन बढाउने र उत्कृष्ट अभ्यासहरू साझा गर्दै जनस्वास्थ्य चुनौतीहरू (जस्तै संक्रामक रोग, मातृ र बाल स्वास्थ्य, तथा नसर्ने रोगहरूलाई) सम्बोधन गरेर प्राथमिक स्वास्थ्य सेवा वितरणमा सुधार हुने विश्वास व्यक्त गरिन् ।

संयुक्त राष्ट्र संघले धुलिखेल अस्पताललाई विश्वव्यापी स्वास्थ्य विषयमा सहयोग गर्नेछ । स्वास्थ्य परिणामलाई बढावा दिन अनुसन्धान परियोजनामा संलग्न हुन र स्वास्थ्य, पोषण र सामाजिक व्यवहार परिवर्तनमा केन्द्रित सामुदायिक आउटरिच सञ्चालनका लागि सहयोग गर्नेछ । सहमतिअनुसार यसका लागि धुलिखेल अस्पतालले प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ र संयुक्त अनुसन्धान परियोजनाहरू विकास गर्न उत्कृष्ट अभ्यासहरू साझा गर्नेछ । ‘यो साझेदारी नेपालको स्वास्थ्य सेवाको यात्रामा एउटा महवपूर्ण कोसेढुंगा हो । हामी विश्वस्त छौँ कि हामी सबैका लागि स्वस्थ भविष्य निर्माण गर्न सक्छौँ । चिकित्सा क्षेत्र र अनुसन्धानमा धुलिखेल अस्पतालको विशेषज्ञता र संयुक्त राष्ट्र संघको विश्वव्यापी स्रोत र सञ्जालसँग संयोजन गरेर हामी नेपाली जनताको स्वास्थ्य र कल्याणमा उल्लेखनीय नतिजा ल्याउने गरी काम गर्नेछौँ,’ धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ मकाजू श्रेष्ठले भने ।
धुलिखेल अस्पतालसँगै संयुक्त राष्ट्र संघीय सुधारद्वारा निर्देशित संयुक्त राष्ट्र संघको यो संयुक्त सहकार्यले नेपालीको जीवनमा गहिरो प्रभाव पार्ने र यस क्षेत्रका अन्य देशका लागि नमुनाको रूपमा काम गर्ने राष्ट्र संघीय कार्यालयले जनाएको छ ।