लागुऔषधसहित ४ जना पक्राउ
उदयपुरबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीबाट खटेको टोलीले सवारी चेकजाँचको क्रममा सदरमुकाम त्रियुगा नगरपालिकाबाट दुईजनालाई नियन्त्रणमा लिएको हो।
उदयपुर र सप्तरीको सीमानाका लालपत्ता हुँदै लाहानबाट गाईघाट आउँदै गरेको स ५ प ८०९९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक त्रियुगा नगरपालिका- ८ का २६ बर्षीय दिनेश कटुवाल र पछाडि सवार २७ बर्षीय सन्देश कार्की लागूऔषधसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट नियन्त्रित औषधि ३० एम्पुल तथा ६८ थान ट्याब्लेट र कोरेक्स १ बोतल बरामद भएको छ। उनीहरु दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी बुधबार साँझ प्रहरीले झापाको मेचिनगर नगरपालिका ६ मेचीपुलबाट २ युवालाई पक्राउ गरेको जनाएको छ।
मेचीपुलस्थित लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका ११ का २४ वर्षकै निलजङ बस्नेतलाई पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसएसपी भीम दाहालका अनुसार पक्राउ परेका भण्डारीको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद भएको छ,भने बस्नेतको साथबाट २ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। उनीहरुलाई हिरासतमा राखेर सम्बन्धित कार्यालयले अनुसन्धान सुरु भएको दाहालले बताए।