टिकटक मोबाइलमा कहिलेदेखि चल्छ ?

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।
टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको मन्त्री गुरुङले बताए । सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने उनको भनाइ छ ।
टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ ।
सरकारले प्रतिबन्ध लगाएपनि विभिन्न वैकल्पिक प्रक्रियामार्फत टिकटक चलिरहेकै थियो। केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो।
अब निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ। तर, सञ्चारमन्त्री गुरुङले भने नीतिगत रुपमा मात्रै खुला गरिएको दाबी गरे।
‘नीतिगत रुपमा त खुल्यो, केही दिनदेखि खुल्छ। टिकटकजस्तै अन्य सामाजिक सञ्जालले पनि पोइन्ट अफ कन्ट्र्याक्ट गर्नुपर्यो,’ उनको भनाइ थियो।
टिकटक कहिलेबाट खुल्छ ? मन्त्रिपरिषद बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफमा उनले भनेका छन्, ‘अब सहमति गर्नुपर्यो नि। खुल्न चाहीँ खुल्यो।’
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।