काठमाडौ विश्वविद्यालयमा थपिए नयाँ कार्यक्रम

धुलिखेल/काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक स्वास्थ्य सूचना विज्ञान (हेल्थ इन्फर्मेटिक्स) विषयको स्नातक तहको नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । स्वास्थ्य विज्ञान र सूचना प्रविधिका लागि यो विषय उपयुक्त हुन्छ । यो कार्यक्रम सेप्टेम्बर १७ देखि शुरु गर्ने विश्वविद्यालयले जानकारी गराएको छ ।

स्वास्थ्य डाटालाई प्रर्वद्धन गर्नु, स्वास्थ्य सूचना प्रणालीको विकास गर्नु र स्वास्थ्य विज्ञानको क्षेत्रमा अनुसन्धान र नवीनतालाई बढावा दिनु यस कार्यक्रमको उद्देश्य हो । नेपालमा मात्र नभई विश्वव्यापी रूपमा यस विषयको जनशक्तिको अत्यधिक माग छ । त्यसैले काठमाडौं विश्वविद्यालयले हेल्थ इन्फर्मेटिक्समा स्नातक तहको अध्यापन गराउन लागेको हो । स्नातकोत्तर तहमा भने यस विश्वविद्यालयले दुई वर्ष अगाडिदेखि नै यो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भरतपुरको कलेज अफ मेडिकल साइन्सेज, पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेज र काभ्रेको चौकोटमा यसको पढाइ हुने भएको छ । एउटा कलेजमा एक सत्रमा ३० जना विद्यार्थी भर्ना गरिनेछ । यो चार वर्षको कार्यक्रम हो । यसमा + २ विज्ञान वा सो सरहमा कम्तीमा ५०% वा कम्तीमा सीजीपीए २.० ल्याएका वा इन्जिनियरिङ, विज्ञान, प्रविधि, स्वास्थ्य विज्ञान (नर्सिङ, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब टेक्नोलोजी) मा ३ वर्षे डिप्लोमामा कम्तीमा ५०% वा सो सरह ल्याएका विद्यार्थीहरू भर्ना हुन सक्नेछन् ।