काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकका निर्णय प्रमाणीकरण, विश्वविद्यालयलाई अस्पताल खरिदमा रोक, प्रधानमन्त्री ओली धुलिखेल आउँदै

धुलिखेल/प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओली भाद्र १४ गते शुक्रबार धुलिखेल आउने भएका छन् । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोहमा सहभागि हुने २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री ओली धुलिखेल आउन लागेका हुन् ।

२०८१ श्रावण ३० गते सम्पन्न काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकबाट उक्त दिन दीक्षित हुने विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने निर्णय गरेको थियो । काठमाडौ विश्वविद्यालयले स्नातक र सो भन्दा माथिका तहका परीक्षा उर्तिण गरिसकेका विद्यार्थीहरुलाई सम्वन्धित तहको शैक्षिक उपाधी प्रदान गर्न २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रम आयोजना गरेको हो । स्कुल अफ आर्टस, एजुकेशन, इँिन्जनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६ जना अथार्त ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८ जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन् । अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।

४ अर्ब ३० करोडको बजेट प्रस्ताव
काठमाडौ विश्वविद्यालयले आर्थिक वर्ष २०८१/२०८२ का लागि ४ अर्ब ३० करोड ९० लाख रुपैया बराबरको अनुमानित आय ब्यय सहितको बजेट प्रस्तुत गरेको छ । सिनेट बैठकमा भौतिक पूर्वाधार एवं सुविधा, शैक्षिक÷प्राज्ञिक उपलब्धी, संस्थागत सुधार एवं संचालन लगायतका विषयमा छलफल भएको थियो । २ सय शैयाको अस्पताल संचालन गर्न निर्माण भएको नयाँ भवन एवं अपुरा भवनहरुको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको लगायतका विषयमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली सहित सिनेटलाई जानकारी गराईएको थियो । उपकुलपति प्रा.डा.भोला थापा, रजिस्ट्रार प्रा.डा.अच्युत वाग्लेले विश्वविद्यालयले भोगिरहेका समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए भने धुलिखेल अस्पतालसँगको सम्वन्धका बारेमा पनि जानकारी गराएका थिए । २९ औ दीक्षान्त समारोहमा तत्कालिन प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले १ हजार शैयाको आफ्नै अस्पताल बनाउने घोषणा दीक्षान्त समारोहमा गरेका थिए ।

सिनेट सदस्यहरुका फरक धारणा
सभाका सदस्य एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पताल र काठमाडौ विश्विद्यालय बीचको सम्वन्धका बारेमा प्रश्न उठाउँदै सँगै रहन नसक्ने भए सम्झौता अनुसार ५ वर्षको अवधी भित्र अलग हुन र सँगै रहन सक्ने भए भएका विवाद तत्काल समाधान गरी सेवा प्रभावमा सहजिकरण गर्न विषय प्रवेश गराएका थिए । नगर प्रमुख अशोक ब्याञ्जुले उठाएका विषयलाई थप प्रष्ट पार्न काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मालाई कुलपति केपी शर्मा ओलीले अनुरोध गरेका थिए । डा.सुरेशराज शर्माले पनि सोहि अनुसारको धारणा राखेका थिए ।

सभाका सदस्यहरुको धारणा लगत्तै प्रधानमन्त्री ओलीले लक्षित उदेश्य अनुसार विद्यार्थी भर्ना संख्या नपुगेकोमा विश्वविद्यालय पदाधिकारी बसेर समाधान खोज्न, बजेटमा राखिएको भन्दा खर्च बढी हुने नपुग रकम सरकारको तर्फबाट प्राप्त हुने अनुदान रकमबाट पुर्ति गर्ने भनिएकोलाई वर्तमान सरकारसँग पर्याप्त कोष नभएको र त्यसको अभाव भएकाले ठुलो अपेक्षा नराख्न र धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालय बीचको खटपटको मिलन विन्दु खोज्नुको विकल्प नभएकाले जसरी पनि मिलाउनु पर्ने बताए । विश्वविद्यालयले टुक्राटुक्री अस्पतालहरुसित सहकार्य गरेर मेडिकल कार्यक्रम चलाउन ब्यवहारिक नहुने र तत्कालका लागि आफ्नै नयाँ अस्पताल निर्माण गर्न पनि असम्भव भएकाले सकेसम्म दीर्घकालिन र नभए कमसेकम ५ वर्षका लागि धुलिखेल अस्पतालसँग दायाँबायाँ गर्न नपाउने गरी सोहि अस्पतालसित पुनः समझदारी कायम गर्न दुबै संस्थाका पदाधिकारीहरु सहित आफ्नै सक्रियतामा त्यसको निचोड र निश्कर्ष निकाली भाद्र महिना भित्र विश्वविद्यालय सभा आयोजना गर्ने र आवश्यक निर्णय लिने बताए ।

रिक्त पदमा मनोनयन
काठमाडौ विश्वविद्यालय ऐन, २०४८ को दफा ४ को उपदफा (१) को (झ),(ड), (ढ) र (ण) अनुसार खाली रहेका पदहरुमध्ये प्राचार्यहरुबाट बनेपामा रहेको केयु ग्लेसियर कलेजकी प्रिन्सिपल इन्दु थापा, चन्दादाताहरुबाट राजेन्द्र खेतान काठमाडौ, लब्धप्रतिष्ठित विद्धानहरुबाट डा.नारायण नरसिं खत्री, काठमाडौ, उद्योगपति रामेश्वर थापा, काभ्रे, शिक्षकहरुबाट डा.मोनिका पोखरेल, स्कुल अफ मेडिकल साईन्सेज र विद्यार्थी प्रतिनिधि स्कुल अफ एजुकेशनको सिफारिस अनुसार हुने गरी निर्णय गरिएको छ । सिनेटमा काभ्रेबाट धुलिखेल र बनेपा नगरपालिकाका प्रमुख सहित थप दुई जना थप भएका छन् । सभामा चन्दादाताहरुबाट प्रस्तुत गरिएका विदेश नागरिक अस्विकृत भए । लब्धप्रतिष्ठितहरुबाट ५ जनाको नाम प्रस्ताव गरिएको थियो । विद्यार्थी, शिक्षक, उद्योगपति, प्रार्चायहरुबाट एक÷एक जना प्रस्ताव गरिएको थियो । विदेशी नागरिकलाई सभामा सदस्य मनोनित गर्ने कानूनी ब्यवस्था नभएको भन्दै सदस्य अशोक ब्याञ्जुले प्रश्न उठाएका थिए ।

अस्पताल खरिद गर्ने निर्णय भएन
काठमाडौ विश्वविद्यालयका लागि अस्पताल खरिद खरिद गर्न वा लिजमा लिन सभाबाट समिति गठन गर्न प्रस्ताव गरिएको थियो । केयुएसएमएसका संयोजक डा.नरेन्द्रबहादुर राणा पुर्व डिनको संयोजकत्वमा मुकुन्द उपाध्याय र निलेशमान सिंह प्रधान रहेको तीन सदस्यीय उप समिति बैठकमा प्रस्तुत गरिएको थियो । मुकुन्द पुर्व प्रमुख प्रशासकीय अधिकृत हुने भने प्रधान कावि संरक्षण समितिका सदस्य हुन् । उक्त प्रस्तावमा सभामा निर्णय हुन सकेन । प्रधानमन्त्री ओलीले तत्काल धुलिखेल अस्पतालसँगको सम्वन्ध सुधार्न निर्देशन दिए पछि उक्त प्रस्ताव स्थगित भयो ।

शोक प्रस्ताव पारित
काठमाडौ विश्वविद्यालयका संस्थापक प्रा.डा.भद्रमान तुलाधरको निधन २०८० फागुन ३० गते भएकोमा सभाबाट मौनधारण सहित शोक प्रस्ताव पारित भएको छ ।