तनहुँ बस दुर्घटनाः मृतकको संख्या २७ पुग्यो, शव परीक्षण चितवनमा हुने

तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। यता आँबुखैरेनी अस्पतालका प्रमुख डा। डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ। बस शुक्रबार बिहान ११स्३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो। यसैबिच दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण चितवनमा हुने भएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।