मण्डनदेउपुरमा होम चौंलागाँईलाई वडा कार्यालयमै कुटपिट
समाजसेवी एवं मदानी बिट डटकममा शुभचिन्तक होम चौंलागाँई कुटिएका छन । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागी चौंलागाँईलाई स्थानीय राजेन्द्र सापकोटाले कुटपिट गरेका हुन् ।
वडा अध्यक्ष सिताराम श्रेष्ठले वडा कार्यालयमा बोलाएर हातपात गराएका चौंलागाँईले बताए । कुटपिटका कारण चौंलागाँईको टाउको र अनुहारमा गम्भिर चोट लागेको छ । उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइँदैछ ।
डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा डेंगुबाट मृत्यु भएकी महिलाका श्रीमान् सापकोटा र ससुराले चौंलागाँई कुटपिट गरेका हुन् । महिलाको केहिदिनअघि मृत्यु भएको थियो । ती महिला सुरुमा स्थानीय जनक सेवा फार्मेसिमा उपचारका लागि गएकी थिइन् ।
अस्पतालले सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरेको थियो । उपचारका क्रममा उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । परिवारले महिलाको शव वुझेर काजक्रिया गरेका छन् । मृतकका केहि आफन्तले भने स्थानीय फार्मेसीको गल्तीले मृत्यु भएको भन्दै नगरपालिकामा निवेदन दिएका थिए । नगरपालिकाले उक्त घटना छानविनका लागि समिति गठन गरेको छ । छानविन समितिको प्रतिवेदन हालसम्म नगरपालिकालाई प्राप्त भएको छैन । प्रतिवेदन नआउँदै पीडितका आफन्तले घटनाका बारेमा छलफल माग गरेका थिए ।
नगरपालिकाले घटनाका सन्दर्भमा छानबिन गरिरहँदा वडाले आज छुट्टै छलफल बोलाएको थियो । मृतकका आफन्त, फार्मेसी सन्चालक लगायत सरोकारवालालाई वडा कार्यालयले छलफलमा बोलाएको हो । चौंलागाँईलाई वडा अध्यक्ष सिताराम श्रेष्ठले छलफलमा बोलाएका थिए ।






