रोटरी क्लव अफ काभ्रे भ्यालीको पदस्थापन, अशोक पाण्डेयको नेतृत्वमा नयाँ समिति

बनेपा/रोटरी क्लव अफ काभ्रे भ्यालीको चौथो पदस्थापन कार्यक्रम बनेपामा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष रिकेश कायश्थले नवनिर्वाचित अध्यक्ष अशोक पाण्डेयलाई पद हस्तान्तरण गरेका थिए । नयाँ समितिले पदस्थापन सँगै आगामी वर्षका कार्यक्रमहरु प्रस्तुत गरेको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेयले आगामी वर्षका कार्यक्रमहरुका लागि सबै क्षेत्रको सहयोग र समन्वयका लागि अनुरोध गरेका थिए ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का पुर्व गर्भनर संजय गिरीको प्रमुख आतिथ्यता तथा अध्यक्ष अशोक पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य लगायतका अतिथीहरुले स्थानीय सरकारसँगको समन्वयमा समुदायमा हुने सामाजिक कृयाकलाप गर्न सहजिकरण गर्ने बताए ।

 निवर्तमान अध्यक्ष रिकेश कायश्थले आफ्नो कार्यकालमा भएका सामाजिक गतिविधि तथा विभिन्न क्षेत्रमा भएका कृयाकलापका बारेमा जानकारी गराउँदै सहयोगीहरु सबैमा धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले रोटरी इन्टरनेशनल क्लव मार्फत समुदायमा हुने विभिन्न गतिविधिहरुमा सेवाका भावले कार्य गर्न सकिने बताएका थिए । कार्यक्रममा असिस्टेन्ट गर्भनर भुवन सिं कुँवर, भिमप्रसाद बञ्जारा, विदुर दाहाल, संगिता मानन्धर लगायतले रोटरीका विभिन्न कार्यक्रम र योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी राजकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।