रामेछाप पहिरोः ६ जनाको शव फेला, ४ जना अझै बेपत्ता

काठमाडौं/ रामेछापको शैलुङ्ग गाउँपालिका– ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते भएकी छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् । गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।