रोशीका गाउँ–गाउँमा गर्भवती महिलालाई निशूल्क ‘अल्ट्रासाउन्ड’, मंगलटार स्वास्थ्य चौकीमा दैनिक सेवा
रजवास, मंगलटार/रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्वास्थ्य चौकीले गर्भवती महिलाहरुलाई गाउँ गाउँमा पुगेर अल्ट्रासाउन्ड (एक्सरे) सेवा उपलब्ध गराउँदै आएको छ । गर्भवती महिलाहरुले नियमित प्राप्त गर्नु पर्ने उक्त सेवा गाउँमा नै उपलब्ध भए पछि खुशी ब्यक्त गरेका छन् ।
रोशी गाउँपालिका अन्र्तगतका सबै स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रमा निशुल्क ग्रामिण अल्ट्रा साउण्ड सेवा शुरु गरिएको थियो । सोहि कार्यक्रम अन्र्तगत आईतबार मंगलटारको रजवासमा ९ जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको छ ।
संघीयतापछि स्थानीय सरकार संचालनमा आएदेखि ग्रामीण क्षेत्रमै विशेष गरी गर्भवती महिलाकै लागि ग्रामीण अल्ट्रासाउण्ड परीक्षण मंगलटार स्वास्थ्य चौकीमा स्थापना भएको छ।मंगलटार स्वास्थ्य चौकीमा भने दैनिक यो सेवा दैनिक प्रदान गरिन्छ । रजवासमा आयोजित गर्भवती परिक्षण शिविरमा स्वास्थ्यकर्मीहरु प्रसुना मोक्तान, सुदेव श्रेष्ठ लगायत सहभागि थिए ।
‘अस्पतालसम्म जानु पर्दा समयको मात्र नभई स्वास्थ्य र पैसाको समेत खर्च हुने गरेको थियो’– सेवा लिन आएकी एक गर्भवती महिलाले भनिन–‘गाउँपालिकाले दिएको निशुल्क सेवाबाट खुशी मात्रै छैनौ । गाउँ–गाउँमा आएर सेवा उपलब्ध गराएकोमा स्वास्थ्यकर्मी प्रति पनि असाध्यै आभारी छौं ।’ हरेक महिना गाउँपालिकाका सबै वडाहरुमा ग्रामीण भिडियो एक्सरे सेवा दिन थालिएको छ ।
अल्ट्रासाउण्ड पछि गर्भवती महिलाहरुको आवस्था राम्रो भएको अवस्थामा गर्भावस्थामा गर्नुपर्ने नियमित हेरचाहका विषयमा सल्लाह उपलब्ध गराईन्छ भने जटिलता देखिएमा तत्काल नजिकै रहेको श्रोत र साधन सहितको सुविधा भएको अस्पताल जान सिफारिस गरिन्छ । जसले गर्दा गर्भावस्थामा आउने जटिलतालाई समयमै पहिचान हुन्छ र गर्भवती महिला र पेट भित्र रहेको बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य बनाउन सहज हुन्छ ।
उक्त कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०८०÷२०८१ मा गाउँपालिकाका १२ वटै वडामा १ सय ४२ जना गर्भवती महिलाहरुले ग्रामीण भिडियो एक्सरे सेवा लिएका छन् । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्न यो सेवा अनिवार्य छ ।
गर्भवती महिलाहरुका लागि अल्ट्रासाउण्ड सेवा निशुल्क गाउँमा नै उपलब्ध गराउने जिल्लाको पहिलो पालिका रोशी हो । उक्त सेवाले गर्भवती महिलाहरुलाई अल्ट्रासाउण्ड सेवाका लागि घण्टौं हिँडेर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको छ । रोशी ९ मंगलटारमा रजवास इकाई र मंगलटार स्वास्थ्य चौकीमा नियमित उक्त सेवा उपलब्ध गराईरहेको छ ।






