सकियो कन्या पूजा, पुजामा मिसिए कलाकार

विकास तिमल्सिना
बनेपा
१ सय २२ वर्ष देखि निरन्तरता पाई रहेको बनेपाको कन्या पूजा सकिएको छ । कन्या पुजामा चर्चित कलाकारहरु पनि सहभागि भएका छन् ।

बनेपामा मात्रै ७ हजार भन्दा धेरै कन्या पुजिएका छन् । सनातन कन्या पूजा प्रवन्ध समितिका उपाध्यक्ष सुरकृष्ण बैद्यको घरबाट निस्किएको पूजा सामाग्रीलाई भोलाखाटोलमा रहेको गणेश मन्दिरमा पुजा सके पछि कन्याहरुलाई पुज्ने गरिन्छ । सोहि अवसरमा बर बधु फिल्मका कलाकारहरु आँचल शर्मा, किरण केसी, रविन्द्र खड्का लगायतका चर्चित कलाकारहरु सहभागि थिए । उनिहरुको टिमले कन्या पुजाका लागि सहयोग गरेको थियो । समितिका तर्फबाट सहयोगिहरु सबैलाई सम्मान गरिएको थियो ।

बनेपाको अलावा बनेपा, धुलिखेल, पनौती, पाँचखाल लगायतका स्थानमा कन्या पूजा गरिएको थियो । बनेपा ११ सिनागाल, शान्ति पार्क, बनेपा १० जनागाल, चौकोट, पनौती बाँसघारी, बनेपा ६ बुडोल, धुलिखेल ४बखुण्डोल, १० शारदा बतासे लगायतका दर्जनौ स्थानमा कन्याहरु पुजिएका छन् ।

श्रीकृष्णजन्माअष्टमीको अवसरमा विभिन्न स्थानमा कन्याहरु पुज्ने गरिएको छ । कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको छ । बनेपामा आयोजना गरिएको कन्या पूजामा प्रति कन्या पाँच सय रुपिँया बराबरका सामाग्री उपलब्ध गराईएको थियो ।

अविवाहित तथा रजस्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’–कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो ।

बनेपाको भोलाखाटोलबाट शुरु भएको बृहत कन्या पूजाको शुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ । सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईन्छ ।

भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन हुने गरेको छ ।

कन्याहरूलाई पूजा गर्दा सु–स्वास्थ्य, सुभ–मङ्गल रसुखमय जीवनको कामना गरिन्छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिल्ने, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ ।

बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका विभिन्न स्थानमा पनि कन्या पूजा गर्न शुरु गरिएको छ । समितिमा अध्यक्ष रामगोपाल कायश्थ, उपाध्यक्ष सुरकृष्ण बैद्य, सचिव प्रकाश कायश्थ, कोषाध्यक्ष दिनेश कायश्थ, सदस्यहरुमा धु्रर्वराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जुल कायश्थ, मणिराज कायश्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप बैद्य, उदय सिं मुस्याजु छन् ।

दाताहरुले दिएको रकम अभाव भएमा वा पूजामा नपुग भएमा समितिका तर्फबाट खर्च ब्यवस्थापन हुँदै आएको छ । व्यापारीक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्णजन्माष्टमीको अवसरमा कन्याहरू पुजिदै आएका छन् ।