मुकुल ढकाल रास्वपाबाट बर्खास्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।
पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको थियो।
पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो।
महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।
यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने निर्णयमा रास्वपा पुगेको हो।
ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उनलाई स्पष्टिकरण सोधिएको थियो ।
ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।
ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गरेका थिए ।प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।






