बनेपाको नाला क्षेत्रमा ‘प्रकृति खेती र खाद्य प्रशोधन’ अभियान

बनेपा, नाला/ बनेपा नगरपालिका वडा नम्वर ३ र ४ का कृषकहरुले प्रकृति खेति शुरु गरेका छन् । विषादीबाट मुक्त गराउँदै अर्गानिक उत्पादनलाई बढावा दिन प्रकृति खेति अभियान शुरु गरिएको हो ।प्रकृति रिसोर्स सेन्टरको सहयोगमा विगत ३ वर्षदेखि नालामा माटो बचाउ अभियान सञ्चालित छ । सोहि अभियानका लागि पहिलो चरणमा १० जना कृषकहरुलाई तालिम प्रदान गरिएको थियो भने दोश्रो चरणमा २९ जना कृषकहरुले तालिम लिएका छन् । १५ दिने तालिममा सहभागिहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

तालिममा सहभागिहरुलाई बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु रमेश दाहाल, श्यामसुन्दर श्रेष्ठ, पीआरसी का कार्यक्रम अधिकृत प्रज्ञा शेरचन,जैविक विषादी विज्ञ पुरुषोत्तम चःगुठी, बजार विज्ञ पुष्प शाही संस्थाका प्रतिनिधिहरु तथा प्रशिक्षकहरुले प्रमाणपत्र उपलब्ध गराएका थिए । सवा नेपालको नालामा रहेको सामुदायिक अध्ययन केन्द्र तथा महिला जागरण समुह मार्फत कृषकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सवा नेपालका अध्यक्ष अप्सरा महर्जन, प्रशिक्षक सुलोचना श्रेष्ठ र नाला सिएफसीका लिडर निर्मला श्रेष्ठले सवा नेपालको आयोजना तथा युएन ओमनको सहयोगमा साउन १ देखि १६ गतेसम्म सचालित १५ दिने प्राकृतिक कृषि खेति तथा खाद्य प्रशोधन सम्वन्धी तालिममा सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

‘कृषिमा प्राकृतिक उत्पादन र खाद्य प्रशोधन मुख्य दुई विषयमा केन्द्रित गरी तालिम प्रदान गरेका छौं’– सिएफसी नाला समुहका लिडर निर्मला श्रेष्ठले भनिन–‘स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न उत्पादनलाई प्राकृतिक र उत्पादित बस्तुलाई खाद्य प्रशोधन सहित उद्योगका रुपमा विकास गर्ने प्रयत्न शुरु गरिएको छ ।’ तालिममा जिवामृत, निमास्त्र, अग्निअस्त्र, ब्रम्हास्त्र मल उत्पादन गर्न कृषकहरुलाई सिकाईएको प्रशिक्षक सुलोचना श्रेष्ठले बताईन् ।
गाईको पिसाव र मलबाट जिवामृत बनाईन्छ भने वनस्पतिहरुबाट निमास्त्र लगायतका मलहरु बनाईन्छ । उक्त मलको प्रयोगले विषादी र रासायनिक मल प्रयोगमा कमी हुनेछ । अधिकांश कृषकहरुलाई रासायनिक मल र विषादी विना पनि कृषि उत्पादन गर्न सकिन्छ भन्ने सोचको विकास मात्रै नभई प्रयोगमा पनि ल्याउन सकिएको कार्यक्रम संयोजक भवानी श्रेष्ठले बताईन् ।

तालिममा सहभागि कृषकहरु मछिन्द्र श्रेष्ठ, रिया श्रेष्ठ, प्रेम श्रेष्ठ लगायतले विषादी र रासायनिक मल विनाको उत्पादनमा जोड दिन तालिम महत्वपूर्ण रहेको बताए । उनिहरुले उत्पादन गरेको आर्गानिक उत्पादनको मुल्य पनि धेरै आउन थालेको र उपभोक्ताहरुले पनि आर्गानिक उत्पादनलाई प्राथमिकता दिन थालेको बताए । कृषकहरुले टनेल भित्रको खेतिमा लगाउने अधिकांश तरकारीमा उत्पादित प्राकृतिक मलहरुको प्रयोग गर्न थालेका छन् । जसका कारण रोग तथा अन्य किरा फट्याङ्गग्रां लाग्न नपाएको उनिहरुले बताए । खेतिमा प्रयोग गरिएका विषादीहरु क्रमशः हटाउँदै लगिने उनिहरुले बताए ।
कार्यक्रममा सहभागि कृषक र अतिथीहरुले कृषि उत्पादनलाई प्रकृतिसँग जोड्दै खाद्य प्रशोधनमा जोड दिनु पर्नेमा सबैको सक्रियता आवश्यक रहेको बताए । बनेपा नगरपालिकाले उक्त क्षेत्रका लागि विशेष कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयन गर्ने उपप्रमुख विमला सापकोटा लगायत अन्य जनप्रतिनिधिहरुले बताए ।

महिला जागरण समुह मार्फत स्थानीय स्तरमा उत्पादित सामानहरुबाट १७ प्रकारका खाद्य बस्तुहरुको उत्पादन शुरु गरिएको छ । जसमा पाउँ तथा अचारहरु, मस्यौरा तथा अन्य खाद्य सामाग्रीहरु उद्योगका रुपमा उत्पादन शुरु गरिएको छ । हलुवाबेद, आरु, लब्सी, भोगटे, नासपाती, गोलभेडा, अकबरे खोर्सानी, बन्दा, मुला, भ्यान्टा लगायतका उत्पादित बस्तुहरुलाई प्रशोधन गरी विभिन्न परिकारहरु तयार गर्न शुरु गरिएको छ ।
वातावरणमा पार्ने असर न्यूनिकरण तथा जलवायु अनुकुलन खेति प्रणालीलाई उक्त कार्यक्रमले थप प्राथमिकता दिने आयोजकले बताएका छन् ।
