महामारीजन्य रोग नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयको प्रयास

धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले महामारीजन्य रोगहरुका बारेमा संचारकर्मीहरुसँग अन्र्तक्रिया गरेको छ ।

जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लामा देखिएका महामारीजन्य रोग, त्यसको अवस्था, रोकथामका लागि भएका प्रयास तथा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएकी थिईन् ।

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका महाँकालमा कालाजार देखिएको र नियन्त्रणमा आएको सोहि अवसरमा बताईएको थियो । कालाजार भुसुनाका माध्यमबाट सर्ने गर्दछ । ७ जना ब्यक्तिहरुमा देखिएको कालाजार नियन्त्रणका लागि भएका प्रयत्न र प्रयास तथा अवस्थाका बारेमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी गराईन् ।

काभ्रेपलाञ्चोक जिल्लामा बढिरहेको डेंगु, त्यसको नियन्त्रण र त्यसबाट पर्न सक्ने असर कम गराउन गरिरहेका प्रयास, सचेतनामुलक कार्यक्रमका बारेमा समेत जानकारी गराईएको थियो । कार्यक्रममा जिल्लामा मलेरीया, कालाजार, डेंगी, कोभिड, रेविज लगायतका महामारीजन्य रोगहरु नियन्त्रणका लागि भएका प्रयासका बारेमा जानकारी गराईएको थियो ।

खानेपानीको नियमित परिक्षण गर्न, खानपान, रहनसहन, सरसफाईका बारेमा ध्यान दिन र सचेत गराउँदै स्थानीय सरकारका स्वास्थ्य शाखाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु भएका छन् ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, ल्याव प्रमुख सिता श्रेष्ठ, सृजना अधिकारी लगायतले जिल्लाका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा महामारीजन्य रोगहरु नियन्त्रणका लागि संचारमाध्यम र संचारकर्मीहरुको समन्वय रहने बताए ।