लाखे नाँचको महत्व

बिशेषत उपत्यकाका तीन सहरहरू बाट फैलिएको नेवारी समाज देशको विभिन्न मुख्य सहरहरूमा नेवारी बस्तीहरूको रुपमा रहेका छन् । नेवारी समाज नेवारहरूको पकड भएको ठाउँहरूमा कला सभ्यता संस्कृति जगेर्ना भएको पाउँछौ । विभिन्न धर्म संकृतिका रीतिरिवाज चाडपर्वहरूमा नेवा सभ्यता पौराणिकताका कार्यक्रम हरू आयोजना गरिएको हुन्छ ।
प्रसंङ्ग लाखे नाच गठेमङ्गलबाट सुरु हुने गर्दछ । रक्षा बन्धन, क्वाँटी पूर्णे, गाईजात्रा पछि देशको विभिन्न ठाउँहरूमा लाखे नाच शक्ती या तान्त्रिक परम्परा अन्तर्गत नाच्ने गरिन्छ र यसको छुट्टै महत्त्व रहेको छ ।

किंवदन्ती अनुसार तलेजु भगवान् सँग सम्बन्धित रहेको लाखे नाचलाई राक्षस र मानव सँगको प्रेमको रूपमा पनि लिने गरेको छ । ज्यापुको छोरी सँग भुतको माया प्रीतिले गर्दा, भुत र मान्छे सँगको सम्बन्ध लाखे नाच तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकाले निश्चित विधि अनुसार गरिन्थ्यो।

आजभोलि धार्मिक बिधी बिधान भन्दा पर जुन सुकै नेवार जातिले आफूखुसी मनोरञ्जनको रुपमा लाखे नाच नाचेको पाउँछौ । जसले गर्दा कतिपय विधि–विधान लोप भइसकेका छन्। लाखे नाचलाई आफ्नै मौलिकतामा ठाउँ अनुसार लाखे नचाउँदै आएका छन् । उपत्यका भित्र पनि फरक फरक भेसभुसा बाजागाजा नाच्ने लाखे नाचको मूल विधि यही हो भन्ने छैन । तर पनि नेवारी समाज बाहेक सबै जात जातीले रुचाउने लाखे नाच जुन सुकै पर्व, उत्सव ,सभा सम्मेलन देखि लोकदोहरी रोडीघरमा समेत लाखे नाचको प्रदर्शनी दुरुपयोग हो कि भन्ने सबैलाई लाग्दछ । किन कि यो नाच कुनै धार्मिक विधि विधान र जातियता र धर्म सँग जोडिएको छैन ।

काठमाडौँमा उपत्यका देखी अन्यत्र बाहिर नेवारी बस्तीहरूमा फैलिएको यो लाखे नाच कहीँ कतै एक रुपता भएको पाउँदैनौ । साँखुमा लाखे नाचमा लाखेले मान्छे लखेट्ने गर्दछ । साँगामा लाखे संगै भुच्चा कवाङ्गहरुले लाखे जस्तै आफू नाचेर लाखेलाई जिस्काउने गर्दछ । अरू ठाउमा ठुलो ठुलो मुकुन्डो लगाएर लाखे एक्लै नाचेको पनि पाउँछौ ।
म आफू चरिकोटमा रहँदा सध्याकाल पख साथीभाइहरू तास खेली रहँदा फुट्ट हराएको चिरञ्जीवी मास्के एकै छिनमा लाखे नाच्दै आएको हुन्छ । त्यसको समाचार दाइ देवदास श्रेष्ठले ठाउको ठाउँ भोलीको न्युज भन्दै गोरखा पत्रमा पठाई हाल्थे । कृष्ण अष्टमीको दिन साथी गोविन्द चक्र भेदन कृष्ण बनेर सिँगारिएको केटा भाइहरू गोपिनी बनेर चरिकोट बजार परिक्रमा निकै आकर्षक लाग्दथ्यो । बेलुका मध्यरात लाखे वध निकै सनसनी पूर्ण कौतूहल रोमाञ्चित लाग्दथ्यो । आज चरिकोट चिनाउने लाखे नाच सबै तिर प्रख्यात भएको छ ।

नेवारी पुरानो बस्ती दोलखाबाट सिकेको लाखे नाच चरिकोट सदरमुकाम गठेमङ्गल घण्टाकर्ण पछि दैनिक रूपमा पुरानो बजारबाट सुरु गरि बजार हुँदै सात दोबाटो घुमाएर रमाइलो गर्दै पुन त्यही ठाउमा आएर विसर्जन गर्ने गरिन्छ । कृष्ण जन्माष्टमी दिन विशेष रूपमा रथयात्रा कृष्ण गोपिनी नाचगान सहित लाखे निकाल्ने गरिन्छ । मध्ये रात १२ बजे पश्चात् कृष्णको जन्म पछि विधिवत् रूपमा कृष्ण द्वारा लाखेको वध गराइन्छ । त्यस पछि यो वर्षको लागि लाखे नाच अन्त्य हुने प्रचलन रहेको छ । यसरी नै देशको कुनाकाप्चा नेवारी बस्तीहरूमा लाखे नाच आआफ्नो ढङ्गको लाखे नाच देख्न पाउँछौ ।