दोलालघाटमा बजार अनुगमन

भुम्लु/भुम्लु गाउँपालिकाको दोलालघाट बजार अनुगमन गरिएको छ । दोलालघाट बजारमा रहेका खाद्यान्न, औषधी, होटल, किराना तथा अन्य पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यलयका अधिकृत दिपेश उप्रेतीले बताए ।

जिल्ला प्रशासन अधिकृत उप्रेतीको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलका प्रमुख यज्ञबहादुर ओली, खाद्य्य तथा गुण नियन्त्रण डिभिजन कार्यलय काभ्रेका प्रमुख मनिषा चापागाई, जिल्ला समन्वय समिति काभ्रेका अधिकृत भरत सापकोटा, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका रविन्द्रप्रसाद चौंलागाँई, पुण्यवती श्रेष्ठ र सञ्चारकर्मी लगायतको टोली बजार अनुगमनमा सहभागी भएको थियो । जिल्लाको बेथान्चोक, रोशी तथा पाँचखाल, मण्डनदेउपुर, बनेपा, पनौती, धुलिखेल लगायतका पालिकाहरुमा यसअघि विभिन्न मितिमा बजार अनुगमन भएको छ ।

अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका, जंकफुड र अखाध्य रङ्ग प्रयोग गरिएका माछा, पकौडा लगाएतका खाध्य सामाग्री नष्ट गरिएको छ । यस्तै दर्जनौं पसललाई सचेत गराईएको छ ।

भुम्लु गाँउपालिकाको दोलालघाटका फिस हाउस एण्ड रेष्टुरेण्टका प्रोपाईटर लालमाया तामाङले म्याद गुज्रेका सामान विक्रि वितरण गरेको, माछा र पकौडामा अखाध्य रङ प्रयोग गरी विक्रि वितरण गर्दै आईरहेको फेला परेकाले जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले बताए । उक्त पसल बाट मात्रै २० केजी माछा र अन्य पसलहरु बाट २० केजी माछा गरी ४० केजी अखाध्य कलर मिसाएको माछा नष्ट गरीको ओलिले बताए ।

 अनुगमनका क्रममा पाँचखाल नगरपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी नारायण बेकरी उद्योगलाई तत्काल उत्पादन रोक्न निर्देशन दिएको छ । उद्योगले विगत ४ बर्ष देखी विना लेवल आफ्ना उत्पादन बजार पठाउदै आएको अनुगमनमा भेटीएको छ ।

अनुगमन क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, सरसफाईमा ध्यान नदिएको, म्याद सकिएका खाद्य सामाग्री विक्री गरेको लगायतका त्रुटी भेटिएकाले तत्काल उक्त कार्य नगर्न नगराउन सचेत गराईएको ओलीले बताए । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञबहादुर ओलीले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको बताए । बजार अनुगमन निरन्तर गरिने र विभिन्न पसलहरुलाई सचेत गराईएको उनले बताए ।