काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ । यसअघि प्रधानमन्त्री एवं काठमाण्डौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको सिनेट बैठकमा सिनेट सदस्य एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले दुई संस्थाबीचको विवाद समाधानका लागि सहजीकरण समिति गठन गर्न प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव बमोजिम मन्त्रालयको भदौ ९ गते बसेको बैठकले सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सिताराम अधिकारी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु रहेका छन ।
विश्वविद्यालय र धुलिखेल अस्पतालबीच उत्पन्न असमझदारीका कारण दुवै संस्थाको कार्य सम्पादनमा गम्भिर असर परिरहेको समेत मन्त्रालयले जनाएको छ । उक्त अवस्थाको अन्त्य गरी विश्वविद्यालय र अस्पतालको सुसंचालनका लागि दुवै संस्थाबीच विगतमा झैं सौहार्द सम्बन्ध विकासका लागि आवश्यक सहजीकरणका लागि समिति गठन गरिएको हो । समितिलाई दुवैं सस्थाहरु पुर्ववत अवस्थामा जस्तै सौहार्दपुर्ण अवस्थामा सञ्चालनका लागि आवश्यक व्यवस्थापनको खाका पेश गर्न समितिलाई भनिएको छ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन तथा पुर्व कुलपति समेतको प्रत्यक्ष संलग्नतामा वर्षाै देखि सम्वन्ध रहँदै आएका दुई प्रमुख संस्था बीचको सम्वन्धमा दरार उत्पन्न भएको छ ।
अस्पताल र विश्वविद्यालय दुबै संस्था समन्वय र साझेदारमा संचालन हुँदा मात्रै दुबैको अस्तित्व रहने, नागरिकले सेवा प्राप्त गर्ने र गुणस्तर कायम रहनेमा सबै ढुक्क भए पनि विश्वविद्यालयले गरेका पछिल्ला केहि विवादित निर्णयका कारण दुबै संस्थाको अस्तित्व संकटमा पर्ने चिन्ता ब्यक्त हुन थालेको हो । यसअघि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सिंहदरबारमा भएको सिनेट बैठकमा अस्पताल र विश्वविद्यालयको विवादका बारेमा ध्यानाकर्षण गराएका थिए । सोहि विषयलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले दुबै संस्थाका बारेमा एक महिना भित्र विवाद समाधान गर्ने जिम्मेवारी सहितको आवश्यक निर्देशन समेत दिएका छन् ।
काठमाडौ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद चरमोत्कर्षमा पुगेको थियो । दुई संस्था बीचको विवादका कारण अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रम प्रभावित हुने आशंका उत्पन्न हुन थालेको छ । दुबै संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारी र सेवाग्राहिरु समेत दुई संस्थाको विवादबाट आजित हुन थालेका छन् । विश्वविद्यालय आफैले नियुक्ति गरेका कर्मचारीको राजिनामा ७ महिना देखि लुकाएर धमाधम सोहि समिति मार्फत निर्णय गरिरहेको खुलासा भएको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा भएको छलछाम तथा ग्रैह् कानूनी गतिविधिहरु सच्याउन स्थानीयहरुले अनुरोध गरेका छन् ।