धुलिखेलमा भोली हुने दोहोरी प्रतियोगितामा ८ वटा समुह प्रतिस्पर्धामा
धुलिखेल/धुलिखेल नगरपालिकाले हरितालिका तीजको अवसर पारी भोली शुक्रबार भदौ १४ गते ‘धुलिखेल नगरको आब्हान, घर घरमा नारीको सम्मान’ विषयक दोहोरी प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्ने भएका छन् ।
धुलिखेल नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्यका अनुसार उक्त प्रतियोगिताका लागि १२ वटाबाट ८ वटा समुह दर्ता भएका छन् । दर्ता भएका समुहलाई विहिबार गोला प्रथा मार्फत प्रतिस्पर्धी टिम छनौट गराईएको छ । जस अन्र्तगत वडा नम्वर १ को समुह वडा नम्बर ३ को समुहसँग प्रतिस्पर्धा गर्नेछ भने वडा नम्वर ११ को समुह वडा नम्वर १२ को समुहसँग प्रतिस्पर्धा गर्नेछ । वडा अध्यक्ष आचार्यका अनुसार वडा नम्वर ६ को समुह वडा नम्वर ८ को क समुहसँग र वडा नम्वर १० को समुह वडा नम्वर ८ को ख समुहसँग प्रतिस्पर्धा गर्नेछ ।
एउटा समुहले २० मिनेट दोहोरी गाउनेछ । दोहोरी प्रतियोगिताबाट उत्कृष्ट समुहले १० हजार पाउनेछ । दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना पुरस्कार ३ हजार राखिएको छ । बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, रामहरी न्यौपाने र सरु गौतमले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । करिव १ हजार भन्दा धेरै सहभागिहरु रहने उक्त प्रतियोगिताको अन्तिम तयारी सकिएको धुलिखेल नगरपालिकाले जानकारी दिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रतियोगितामा उत्कृष्ट समुहलाई पुरस्कार वितरण गर्ने कार्यक्रममा नगर उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि रहनेछन् ।
तीज कार्यक्रमलाई धुलिखेल नगरपालिकाले फरक किसिमले मनाउँदै आएको छ । हरेक वर्ष झै यो वर्ष पनि समुहगत प्रतिस्पर्धा मार्फत धुलिखेल नगरपालिकाले हरेक नारीहरुको सम्मानका लागि घर घरमा सचेतना जगाउने उदेश्यले दोहोरी प्रतियोगिता आयोजना गरिएको बताएको छ । उक्त प्रतियोगिताको पुर्व तयारी स्वरुप यस अघि विभिन्न चरणका तयारी बैठकहरु आयोजना गरिएका थिए । कार्यक्रम भोली शुक्रबार विहान ११ बजे धुलिखेल नगरपालिकाको सभा हलमा हुने छ ।