बङ्गलादेशमा विद्यार्थी आन्दोलनः एक हजार धेरैको मृत्यु, चार सय जनाको आँखाको ज्योति गुम्यो

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको पाइएको छ ।

बङ्गलादेशकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको र स्पष्ट विवरण तयार पार्ने काम भइरहेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै आन्दोलनका क्रममा चार सय जनाभन्दा धेरैले आँखाको ज्योति गुमाएका पनि उनले जानकारी दिए । राजरबाघमा रहेको केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग कुरा गर्दै क्षतिबारेमा जानकारी गराएका छन् ।

यसअघि मानव अधिकार सहायता समाजले आठ सय १९ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको थियो ।

यस्तै जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बङ्गलादेशमा ६ सय ५० जनाको ज्यान गएको मानव अधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो ।