आदर्श विद्या मन्दिर बनेपामा स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई शुभकामना

बनेपा/आदर्श विद्या मन्दिर स्कुल बनेपाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागतका साथै कक्षा १२ उर्तिण विद्यार्थीहरुलाई थप शैक्षिक कार्यक्रमका साथ बधाई तथा शुभकामना दिएको छ ।


ब्याचलर तहमा विविएस अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सोहि विद्यालयले चालु शैक्षिक सत्र देखि पठनपाठन गर्न सकिने गरी आर्दश बहुमुखी क्याम्पस संचालन गरेको छ । विद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरीय, ब्यवहारीक र जीवनपयोगीका साथै रोजगार समेत उपलब्ध हुने गरी विविएस कार्यक्रम प्रारम्भ गरिएको विद्यालयका प्रिन्सिपल एवं क्याम्पस संचालक सदस्य रामप्रसाद तिमल्सिनाले बताए ।

तिमल्सिनाले कक्षा ११, १२ सँगै ब्याचलर तहमा उपलब्ध शैक्षिक कार्यक्रमले विद्यार्थीहरुका लागि प्रमाणपत्र मात्रै नभई रोजगार र ब्याचलर तह सकिए लगत्तै आत्मनिर्भर हुन सक्षम हुने गरी ब्यवस्थापन गरिएको बताए । कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक काउन्सिलिङ्गका साथै जीवनपयोगी विषयमा जानकारी गराईएको थियो ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व आयुक्त एवं सिविन नेपालका संस्थापक गौरी प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानले विद्यार्थीहरुले स्वदेशमा प्राप्त गर्ने अवसरलाई सदुपयोग गर्दै शैक्षिक कृयाकलापलाई अघि बढाउन सहज भए पनि नेपालको वातावरण, अस्थिर राजनीतिक गतिविधि र मुलुक भित्र हुने कार्यलाई उचित सम्मान, काम अनुसारको ज्याला उपलब्ध गराउन नसकिएका जस्ता विविध कारण बालबालिकाहरुले बैदैशिक अध्ययनमा रुची देखाए पनि अन्य मुलुकमा झनै कठिन भएकाले ब्याचलर तह अध्ययन पछि मात्रै बालबालिकाहरु परिपक्व हुने भएकाले त्यस पछि ज्ञान र प्रविधी सिक्ने उदेश्यले मात्रै योजना निर्माण गर्न अनुरोध गरे ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, एन प्याब्सन काभ्रेका अध्यक्ष अग्नि ज्ञवाली, आईएसओ का अन्तराष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल, विद्यार्थी कल्याण परिषदका दीक्षा सापकोटा लगायतले बालबालिकाहरुका बारेमा पछिल्ला समय भईरहेका गतिविधिहरु प्रति सबै सचेत रहनु पर्ने धारणा राखेका थिए ।


विद्यालयले कक्षा ११ मा विज्ञान, कानून, कप्युटर, होटल म्यानेजमेन्ट लगायतका विषयमा अध्यापन गराईरहेको छ । विद्यालयले उक्त अवसरमा सहयोगी संस्थाहरु प्रशान्ति इन्टरनेशनल इन्ष्टिच्युटका बलराम श्रेष्ठ, मिसन कम्प्युटर एण्ड एजुकेशन इन्ष्टिच्युटका शिवराम घिमिरे, क्रियटिभ कम्प्युटर इन्ष्टिच्युटका अन्जन श्रेष्ठ र विसिईसी बनेपाका उद्धवप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो । स्वागत तथा बधाई शुभकामना कार्यक्रममा विद्यार्थीहरुले आर्कषक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।