पनौतीकी जीवित देवी कुमारी

विकास तिमल्सिना
कुमारीलाई जीवित देवीको रुपमा पूजा गर्ने परम्परा रहेको छ । कुमारी हिन्दू र बौद्धका लागि साझा आस्थाकी प्रतीक हुन् । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको पनौतीमा जीवित देवी मानिने कुमारीका आ–आफ्नै परम्परा छन् । रानी देवलदेवी तुलजा भवानी सहित नेपाल प्रवेश गरेका हरिसिंहदेवका भारदारहरु पनौतीमा बसेको इतिहास छ । त्यसै कारण पनि पनौतीमा कुमारीको विशेष महत्व छ ।

आजभन्दा करिब  ९० वर्ष अगाडी गणेशमाया सुवाल पनौतीमा जीवित देवी बनेकी थिइन् । पनौतीमा जीवित देवी कुमारीको प्रथा पुरानो भएपनि बीचमा लोप भएको थियो । विंसं. २०७१ सालबाट पुनः कुमारी छान्ने र जीवित देवीको रुपमा पुज्ने प्रचलनले निरन्तरता पाएको हो । कुमारी बन्नको लागि गुफा नराखेको, रजस्वला नभएकी इही समेत नगरेकी बालिकाको आवश्यकता पर्दछ ।

भारतको सिम्रौनगढमा मुसलमानहरुले आक्रमण गरेपछि हरिसिंहदेव रानी देवलदेवी तुलजा भवानी सहित नेपाल प्रवेश गरेका थिए । तर बीचैमा हरिसिंहदेवको मृत्यु भयो । देवलदेवी र उनीहरुसँगै आएका भारदारहरु भने पनौती हुँदै भक्तपुर पुगे । उनीहरु पनौतीमा बसेका थिए । त्यसबेला सुवाल र घुल्लु थरका कन्याले तलेजु भवानकिो सेवा गरेका थिए भन्ने इतिहास छ । लामो समय रोकिउको कुमारी छनौटको प्रचलन २०७१ सालबाट पुःन सुरु भएको थियो । काठमाडौंको हुमत मिसा पुचः र पनौतीको भिन्तुना ग्रुपको सकृयतामा कुमारी पूजालाई निरन्तरता दिइएको हो । त्यतिबेला पनौतीमा सुवाल थरका कोहि पनि घुल्लुबाट कुमारी छानिएको थियो । पनौतीमा अहिले रियाश्ना घुल्लु कुमारी छिन् । यसअघि ओजश्वी घुल्लु कुमारी थिइन् । 

हरेक वर्ष मनाइने बडादशैंको प्रारम्भ भएपछि कुमारी लायकुमा उपस्थित हुने चलन छ । त्यसबेला देवी कुमारीको दर्शन र पूजाआजा गर्ने चलन रहेको छ । यसैबिच पनौतीकी कुमारीको लागि आभुषण बनाइने भएको छ । संपदा संरक्षण महाअभियानका संरक्षक रवि शाक्यले आभुषण निर्माण गरेर हस्तान्तरण गर्ने बताएका छन । शाक्य मुर्तिकार हुन् । रोकिएका जात्रा पर्वलाई निरन्तरता दिनका लागि महाअभियानले सहयोग र सहकार्य गर्दै आइरहेको छ । पर्व चलाउने देविको सेवा गर्ने मौका मिलेको भन्दै उनले खुसी व्यक्त गरेका छन । दशैंसम्ममा आभुषण तयार भइसक्ने शाक्यले बताएका छन । अष्टमात्रीका हार, नाग माला, नरशिर माला, चुरा, कलि सहितको आभुषण तयार गरिनेछ । सुन र चाँदी लेपन गरिएको आभुषण चढाउने इच्छा रहेको शाक्यले जानकारी दिए । त्यसका लागि अनुमति लिन बाँकी रहेको शाक्यले बताए । पुजा विधि गर्दा कुमारीले हुन्छ भने मात्रै थप प्रकृया अघि बढ्ने उनको भनाई छ । तलेजुको आसनमै बिराजमान हुन जाने भवानी आफुले देखेको शाक्यले बताए । पनौती जात्रा पर्व व्यवस्थापन समितिले पनि महाअभियानको निर्णयलाई स्वागत गरेको छ । जात्रा पर्व व्यवस्थापन समिति अध्यक्ष कृष्णधन कर्माचार्यले आवश्यक सहयोग गर्ने बताएका छन । अध्यक्ष कर्माचार्यले कुमारी पूजाका सन्दर्भमा भने, काठमाण्डौं, ललितपुरको इतिहासमा चाँही बज्राचार्य हुन्थ्यो, हाम्रो पनौतीमा चाँही तलेजु लिएर आउँदा सुवाल, घुल्लुबाट विशेष सहयोग भएको रहेछ, त्यही भएर उहाँहरुबाट नै राख्ने चलन रहेछ । यो काठमाडौंसँग मिल्दैन ।
कुमारीको पुजाआजका लागि जात्रा पर्व व्यवस्थापन समितिले ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले पनौतीको इतिहासको संरक्षण र निरन्तरताको कार्यमा महाअभियानले महत्वपुर्ण भूमिका खेलेको भन्दै आवश्यक सहजीकरण गर्ने बताएका छन ।