अखिल लोक गीत प्रतियोगितामा सहभागीताका लागि समुह दर्ता गर्ने आज अन्तिम दिन

हरितालिका तीजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेपलाञ्चोकले अखिल लोक गीत प्रतियोगिता आयोजना गरेको छ ।

अनेरास्ववियु महिला विभागको आयोजना र अनेरास्ववियु काभ्रेको व्यवस्थापनमा भदौ १८ गते लोक गीत प्रतियोगिता हुन लागेको हो । लोक गीत संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिए । इच्छुक विद्यार्थीहरुले समुह बनाई आज साँझ (भदौ १६ ) ४ बजेसम्म समुह दर्ता गर्न सकिनेछन् ।

भदौ १५ गतेसम्मको समय तय गरिएकोमा अन्तिम दिन शनिवार परेकाले आइतबार एक दिन समय थप गरिएको अनेरास्ववियु काभ्रेले जनाएको छ । नाम दर्ताको लागि विद्यालयको चिठ्ठी वा विद्यार्थी परिचयपत्रको प्रतिलिपी आवश्यक पर्नेछ ।
लोक गीत प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा ५ जनाको समुह हुनुपर्नेछ । उत्कृष्ट मौलिक भेषभुषालाई समेत मुल्यांकनको आधार बनाइएको छ भने मौलिक गायनलाई प्राथमिकता दिइनेछ ।


प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने महिला विभाग प्रमुख प्रजिता ढुंगानाले जानकारी दिइन् ।