सडक दुर्घटनामा महिलाभन्दा चार गुणा बढी पुरुषको मृत्यु
सडक दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको सङ्ख्या चार गुणाभन्दा बढी हुने गरेको देखिएको छ । २०७५ साउनदेखि २०८१ असारसम्मको तथ्याङ्क अनुसार सडक दुर्घटनामा जम्मा १५ हजार १६८ जनाको मृत्यु भएकामा दुई हजार ८६५ जना महिला छन् । त्यसै गरी सो अवधिमा १२ हजार ३०३ जना पुरुषको मृत्यु भएको छ ।
नेकपा (एमाले) केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवक विभागद्वारा पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा शनिबार आयोजित विपत् जोखिम न्यूनीकरणसम्बन्धी कार्यशालामा सो जानकारी गराइएको हो । सडक दुर्घटनामा वार्षिक करिब तीन हजार जनाको मृत्यु हुने गरेको पाइएको छ ।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस अवधिमा बागमती प्रदेशमा ६६ हजार १४८ वटा सडक दुर्घटना भएकामा तीन हजार ३६७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यसै गरी सो अवधिमा सुदूरपश्चिम प्रदेशमा दुई हजार १४२ वटा सडक दुर्घटना भएकोमा एक हजार ९७ जनाको, कर्णाली प्रदेशमा दुई हजार ६८८ वटा सडक दुर्घटना भएकोमा ७३२ जनाको, लुम्बिनी प्रदेशमा छ हजार ५३८ जना वटा सडक दुर्घटना भएकोमा तीन हजार ९४ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार गण्डकी प्रदेशमा दुई हजार ४७३ वटा सडक दुर्घटना भएकामा एक हजार २९६ जना, मधेश प्रदेशमा २३ हजार ९९४ वटा सडक दुर्घटना भएकामा तीन हजार एक सय जनाको र कोशी प्रदेशमा १६ हजार ६४३ वटा सडक दुर्घटना भएकामा दुई हजार ४८२ जनाको मृत्यु भएको हो । उनले हरेक वर्ष चट्याङ र आगलागीबाट करिब एक सय जनाको मृत्यु हुने गरेको जानकारी दिए ।