काठमाडौ विश्वविद्यालयले शुरु गर्यो आरपी फाउण्डेशनको सहकार्यमा स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’
भक्तपुरस्थित नेसनल भोकेसन एकेडेमीमा आयोजित कार्यक्रममा आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले नेपालको सम्पदा संरक्षण, ब्यवस्थापन र पुर्ननिर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा उक्त कार्यक्रम महत्वपूर्ण रहने बताए । ‘भुकम्प तथा त्यस पछि देखिएका विभिन्न स्थानमा सम्पदा पुर्ननिर्माण गर्न अभाव भएको जनशक्ति र त्यसको असर नजिकबाट नियाल्यौं’– अध्यक्ष रविन्द्र पुरीले भने–‘गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।’ कार्यक्रममा प्रमुख पुरीले कला, संस्कृति, सम्पदामा उत्कृष्ट नेपालका विशेषतः काठमाडौँ उपत्यकाकासम्पदा विकासको नाममा विनाश भएको बताए। सम्पदा संरक्षणको अवधारणा नबुझ्दा संरक्षणको नाममा विकृति मौलाएको उनले बताए ।
विश्वविद्यालयका उपकुलपति भोला थापाले कार्यक्रमको बेवसाइट शुरूवात गरेका थिए। नेपालको सम्पदा संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण हुने उपकुलपति थापाले बताए । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गगले सम्पदा संरक्षणमा सैद्धान्तिक र प्रयोगात्मक पक्ष एक अर्काका परिपूरक भएको बताइन । सैद्धान्तिक ज्ञान र प्रयोगात्मक कलाको उक्त खाडललाई भर्ने काम उक्त कार्यक्रम अध्ययनले गर्नेमा आशावादी भएको उनले बताइन । हाल सम्पदा संरक्षणलाई विकासको बाधक रूपमा हेरिँदा सरकारी निकायबीच नै वैचारिक भिन्नता देखिन थालेको उनले बताईन् ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुन्दर र प्यारो लाग्ने सम्पदाहरू दृश्यमात्र नभई दर्शन (मूल्यमान्यता) मा पनि अब्बल रहेको बताए। तर पनौतीजस्ता न्यून आय भएका स्थानीय तहलाई सम्पदा संरक्षण चुनौती भएको उनले बताए । लेखक तथा पत्रकार कनकमणि दीक्षितले सम्पदा संरक्षणप्रति चेतना र मर्मतसम्भार दुवै तहमा कमी रहेको बताए। नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले ५० वर्षअघि शुरू भएको जीआईजेटको कार्यक्रयम स्मरण गर्दै काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसनको यो कार्यक्रमका लागि जर्मन सरकार सदैव सहयोगी रहेको बताए।
विश्वविद्यालय उपकुलपति भोला थापाले अध्ययनसँगै सीपको वृद्धि विकास हुने अध्ययन कार्यक्रम विश्वविद्यालय तहमा आउनु पर्ने बताए। स्नातक तहका लागि आएको कार्यक्रम उदाहरणीय हुनेमा उनी आशावादी छन ।हेरिटेज कन्जर्भेसन अध्ययनका लागि २० विद्यार्थी छनोट हुनेछन । विद्यार्थी छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वातामार्फत हुनेछ।






