एमाले काभ्रेमा पदाधिकारी सहित नेताहरुको जिम्मेवारी तोकियो

नेकपा एमाले काभ्रेमा पदाधिकारी सहितका नेताहरुको जिम्मेवारी तोकिएको छ । बनेपामा बसेको एमाले काभ्रेको दोस्रो पुर्ण बैठकले नेताहरुको जिम्मेवारी तोकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको बैठकमा बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, पोलिट्व्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा, केन्द्रिय सदस्य रेशम लामा, एमाले काभ्रेका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जु लगायत नेताहरुको उपस्थिती रहेको थियो । उक्त बैठकले नेताहरुको जिम्मेवारी बाँडफाड गरेको हो ।

अध्यक्ष राजन भुर्तेलले समग्र पार्टी जिल्ला कमिटीको संयोजन लगायतका समग्र पार्टीका कार्य गर्नेछन् । यस्तै उपाध्यक्ष देवसागर लामाले स्कुल विभागको जिम्मेवारी प्राप्त गरेका छन् भने सचिव राजकुमार सापकोटालाई संगठन विभागको जिम्मेवारी दिइएको छ ।

उप–सचिव रत्नकुश रंजितकार आर्थिक विभाग प्रमुख, सुर्यमाया दनुवार स्थानीय विभाग प्रमुख, कार्यालय प्रमुख सुन्दर खड्का, जनसंगठन प्रमुख प्रकाश रोक्का, युवा तथा खेलकुद विभाग प्रमुख टिकाराम लामा, विपद् तथा स्वयंसेवक व्यवस्थापन प्रमुख रमेश लामा, सहकारी विभाग प्रमुख प्रकाश बञ्जारा र प्रेस चौतारी काभ्रेको इन्चार्जको जिम्मेवारी श्याम सापकोटालाई दिइएको छ । यस्तै कृषि तथा पशुपंक्षी विभाग प्रमुख हरिशचन्द्र घिमिरे र निर्वाचन विभाग प्रमुखको जिम्मेवारी नवराज ढकालले पाएका छन ।

यसअघि रहेको ३१ सदस्यीय सचिवालयलाई पनि घटाएर १२ जनामा सिमित गरिएको छ । बैठकले मंसिरसम्ममा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । त्यसअघि कार्तिकसम्ममा वडा अधिवेशन गरिसक्ने तयारी छ । जिल्लामा १३ पालिका मध्ये चौंरीदेउराली गाउँपालिकामा भने अधिवेशन सम्पन्न भइसकेको छ ।