बुबाप्रति समर्पित आजको दिन
आज बुबाको फोटो फेसबुकको भित्तामा टाँस्नु थियो ।
मैले मेरै मुटु छामे मुटु भित्तामा टाँस्न सार्है गार्हो थियो ।
एक अक्षरको ‘बा ‘ तिमीलाई शब्द वाक्यले कसरी पुकारौं । तिमीमा सृष्टिको अनुपम योगदान लुकेको छ । सृष्टिको श्रोत बीज नै पिता हो भन्दा अन्यथा नहोला । आमा धर्ती हुन् धेरैले लेखे बा आकाश हुन् कसैले लेखेनन् । आफ्नो सन्तानको लागि कर्म गर्न कहिले नथाक्ने बा तिमीले आफ्नो लागि कहिले परिभाषा खोजेनौं । माता जननी , पिता सृष्टिदाता हो ।
हिन्दु धर्ममा संसारमा सबैभन्दा ठुलो नै आफ्ना बुवा आमा हुन् भनेका छन्। महादेवले गणेश र कुमारमा को ठुलो भन्ने सन्दर्भमा सन्सारको सबै भन्दा कठिन सुमेरु,कुमेरु पर्वत जो चाँडै घुमेर म कहाँ आउँछ उही ठुलो भनेर पठाउँदा गणेशले महादेव र पार्वतीलाई घुमेर संसारको सबैभन्दा ठुलो आमाबुबा हुन् भनेर महादेवको विश्वास जितेका थिए। श्रवण कुमार मानव जगतमा बुबा आमाको जिउँदैमा सेवा गर्ने समाजका पथ प्रदर्शक उदाहरणीय व्यक्ति हुन । यसरी नै बुबाआमालाइ जिउँदो हुँदा नै सेवा गर्नु पर्छ भन्ने भावना जागृत गर्न सकेमा कुनै पनि सन्तानले आफ्नो जन्मदाता बुवामालाई वृद्धाश्रम पुर्याउने थिएन ।
आज बुबाको मुख हेर्ने दिन , आफ्ना सन्तानहरूले खुसीयालीको रूपमा बुबालाई सेवा सत्कार गरि मिष्टान्न भोजन ,वस्त्र , नगद आदि इत्यादि प्रकारले बुबाको सेवा गर्ने अवसरको रूपमा यो पर्व मान्ने गरेका छौं ।
मान्छे जन्मिए पछि एक दिन मर्नु पर्छ यो शाश्वत धर्म सत्य कुरा कसैले तार्न सक्दैन । हिन्दु समाज धर्मले बुबा आमाको सेवा नै परम धर्म मानेको छ । आज कुसे औँसीको दिन बुबा बितेका सन्तानहरूले काठमाडौँको गोकर्ण र अन्य धार्मिक स्थलहरूमा बुबाको आत्माले शान्ति पाउन भनेर यस पुण्य तिथिमा श्राद्ध संस्कार गर्ने गरिन्छ ।
अहिले म बुबाको बरखीमा छु । योग ध्यान प्राणायाम गर्छु । एक चित्त भएर ध्यानमा भगवानलाई सम्झन्छु । कुनै चित्र भगवानको आउँदैन । खाली बुबाको अनुहार देख्दछु । आखिरी यो दुनियाँको असली भगवान् भनेकै आफ्नो जन्म दाता आमाबुबा हो भन्ने लाग्दछ ।
मेरो बुबा दमको रोगी हुनुहुन्थ्यो । हामीलाई गुनासो र दुखेसो पोख्नु हुन्छ र सधैँ जसो भन्नू हुन्छ । मेरो जिवन कसैलाई भार नहोस् ।अरूलाई दुख झन्झट नहोस् । शरीरले कष्ट नभोगोस् । पिडामा छटपटिन नपरोस् । हाम्रो कामना हामीले भने जस्तो आफ्नो जीवन कहाँ हुन्छ र जे हुन्छ सहनै पर्छ । भन्ने कुरामा बुबाले चिन्ता व्यक्त गर्नु भयो । मैले साह्रै दुख पीडा भोग्नु पर्छ के गर्ने ? बुबाले सोध्नु भयो । मैले सम्झाउने प्रयास गरे । बुबाको दुखाई पीडा त हामी छोरा छोरी परिवार कसैले पनि बाँडेर लिन सक्दैनौं । तर पीडा त महसुस गर्न सक्छौ । हामीले बुबाको सेवा गर्ने हो । बुबाले हामीलाई जन्म दिनु भएको यसै कर्मको लागि होइन र भन्दा बुबा मुसुक्क हाँस्नु भयो र भन्नू भयो मृत्यु कसको बसमा हुन्छ र । बुबा सँग जीवन र मृत्युको बारेमा गहिरिएर कुरा गर्न बाँकी नै थियो । बुबालाई शारीरिक अस्वस्थता घरमा नै अक्सिजन र आौषधी ब्यवस्थापन गरेका थियौ त्यसैले बुबा हस्पिटलमा जानू भन्दा परिवारको स्याहार सुसार र कुराकानीमा रमाउने गर्नु हुन्थ्यो ।
त्यो दिन बुबालाई अलि गार्हो भएको थियो । चेक जाँच भनेर धुलिखेल हस्पिटल पुर्याउदा उपचार हुँदा हुँदै क्षण भरमा हामीबाट बिदा हुनु भयो । बुबालाई एक पटक चटक्क दमको रोग ,बिरामी शरीर निको होला भन्ने आसा थियो । हाम्रो परिवारमा पोहोर सालको जस्तै यस वर्षमा पनि बुबाको मुख हेर्न पाउने आशा थियो । आज बुबाको कोठा शून्य लाग्छ । रित्तो लाग्छ । बुबा हराए जस्तो लाग्छ । कतै घुम्न गए जस्तो लाग्छ । आज कुसे औँसी, बुबाको मुख हेर्ने दिन हिजो बुबाको खुट्टामा ढोग्न पाएका थियौ । आज तस्बिरमा बुबा प्रति हार्दिक प्रणाम, बुबाको आत्माले शान्ति पाउन ।






