बेथानचोक गाउँपालिकामा युवा उद्यमीलाई ब्यवसायीक कर्जामा ‘ब्याज’ अनुदान

कर्जा प्रवाह गर्ने वित्तिय संस्थाले उपलब्ध गराउने ९ प्रतिशत सहुलियत कर्जाको ब्याजमा ५ प्रतिशत गाउँपालिका र ४ प्रतिशत उद्यमीले स्वंयमले ब्यहोर्ने गरी ६ महिना देखि ३ वर्षे अवधीसम्मका लागि २० लाखसम्म कर्जा उपलब्ध गराईनेछ । 

मोतीराम तिमल्सिना
ढुंखर्क, बेथानचोक
बेथान्चोक गाउँपालिकाले जिल्लाकै नमुना कार्यक्रम अन्र्तगत बैदेशिक रोजगार प्रतिको आर्कषण कम गर्न तथा बैदेशिक रोजगार गएर फर्किएका युवाहरुलाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ । १९ वटा ब्यवसायलाई गाउँपालिकाले अधिकतम २० लाख रुपैयासम्मको ६ महिना देखि ३ वर्ष अवधीसम्मको ब्याज अनुदान उपलब्ध गराउने छ ।

२१ वर्ष देखि ४५ वर्षसम्म उमेर समुहका नागरिकलाई उद्यमी बनाउन ब्यवसायिक कर्जामा ब्याज अनुदान उपलब्ध गराउन स्वीकृत गरिएको कार्यविधी अनुसार गाउँपालिकाले सहुलियत कर्जा प्रवाहमा सहकार्य गर्ने वित्तिय संस्था छनौट गरेको छ । ‘गाउँपालिकाले स्विकृत गरेको कार्यविधि अनुसार खुल्ला आब्हान गरिएको प्रस्तावमा मापदण्ड भित्र रहेर केहि वित्तिय संस्थाहरुले गाउँपालिकाले शुरु गर्न लागेको उद्यमीहरुलाई ब्यवसायीक कर्जामा प्रदान गरिने ब्याज अनुदानका लागि सहमति सहितको प्रस्ताव पेश गरेका थिए’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘प्रस्ताव पेश गरेका वित्तिय संस्थाहरु मध्ये ९ प्रतिशत ब्याजमा सहुलियत कर्जा लगानी गर्न इच्छुक रहेको विन्धबासिनी सहकारीलाई गाउँपालिकाले ब्याज अनुदान कार्यक्रममा सहकार्य र साझेदारीका लागि छनौट गरेको छ ।’ विन्धबासिनी सहकारीले २०५७ साल देखि बेथान्चोक गाउँपालिकाको साविक ढुंर्खक गाविसमा सेवा प्रारम्भ गरेको थियो । छनौट गरिएको वित्तिय संस्थासँग सम्झौता पछि सहकार्य शुरु गरिने अध्यक्ष अधिकारीले बताए ।

गाउँबासीलाई उद्यममा आर्कषित गर्दै समग्र आर्थिक विकास र स्वरोजगारलाई अभियानका रुपमा प्रभावकारी बनाउन बास्तविक उद्यमीहरुलाई प्रदान गरिने ऋणमा अनुदान सहायता प्रदान गर्न ब्यवासायीक कर्जामा ब्याज अनुदान दिने कार्यविधि गाउँसभाले पास गरेको प्रवक्ता तथा वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए । पशुपंक्षी र घाँस बाली उत्पादन प्रशोधन भण्डारणका लागि ३ वर्ष अवधीको सहुलियत कर्जा प्राप्त गर्न सकिनेछ ।

नेपाल सरकारबाट मान्यता प्राप्त कृषि ब्यवसायहरु, मसला बाली विउ विजन उत्पादन प्रशोधन भण्डारणका लागि २ वर्ष अवधीको सहुलियत कर्जा उपलब्ध हुनेछ । तरकारी उत्पादन प्रशोधन तथा भण्डारण, विउ विजन उत्पादन तथा भण्डारण, पुष्प ब्यवसाय, फलफुल उत्पादन प्रशोधन र भण्डारण, दुग्ध उत्पादन प्रशोधन विक्री वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन ब्यवस्था, जडिबुटी उत्पादन प्रशोधन र भण्डारण, उखु, कोदो, मकै, अलैची, अकबरे, अदुवा, चियाखेतीको प्रशोधन भण्डारण र विक्री वितरण, मौरी पालन, जौ, फापर, सिलाम, सिमी, आलु, कागती, स्याउ, उत्पादन भण्डारण तथा विक्री वितरण, तरकारी बाली उत्पादन प्रशोधन भण्डारण तथा कृषि उत्पादन तथा संकलन तथा विक्री वितरणका लागि एक वर्षसम्मको सहुलियत कर्जामा अनुदान उपलब्ध गराउनेछ ।
मत्स्ये पालन भण्डारण तथा विक्री वितरणका लागि ८ देखि १२ महिने अवधी र च्याउ उत्पादन तथा विक्री वितरणका लागि ६ देखि १२ महिनका लागि सहुलियत कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यविधि पास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताए । उक्त ब्यवसायका लागि गाउँपालिकाले ५ प्रतिशत सहुलियत कर्जामा ब्याज अनुदान उपलब्ध गराउने छ । उद्यमी ब्यवसायीका तर्फबाट ४ प्रतिशत मात्रै ब्याज बुझाउनु पर्नेछ । विन्धबासिनी सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत केवी लामा सहितका पदाधिकारीहरुले बेथान्चोक गाउँपालिकासँग सहुलियत कर्जा प्रवाहमा सहभागि हुने गरी प्रस्ताव पेश गरिएको बताए । ‘उक्त कार्यक्रममा उद्यमी ब्यवसायीहरुले कर्जामा सेवा शुल्क तिर्नु पर्दैन, ९ प्रतिशत ब्याज बाहेक कर्जा सूचना केन्द्रमा लाग्ने न्यूनतम शुल्क २ सय ५० देखि ८ सयसम्म बाहेक अरु शुल्क लाग्ने छैन’–अध्यक्ष शान्तकुमार श्रेष्ठले भने–‘संस्थाले गाउँपालिकासँगको सहकार्य र समन्वयमा सम्झौता अनुसार १० करोडसम्म ऋण लगानी गर्नेछ ।’ गाउँपालिकाले पहिलो चरणमा ५० जना उद्यमीहरु छनौट गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक मापदण्ड तयारी गर्ने क्रममा रहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।
बेथान्चोक गाउँपालिका कृषि र पर्यटनको सम्भावना बोकेको पालिका हो । युवा पलायन रोक्न र विदेशबाट फर्किएका युवाहरुले प्राप्त गरेको ज्ञान र सीपलाई उद्यममा जोड्ने र स्थानीय स्तरमा नै उत्पादन बृद्धी गरी ब्यवसायीकरण मार्फत आर्थिक उर्पाजन गर्ने गरी उक्त कार्यक्रम ल्याईएको अध्यक्ष अधिकारीले बताए ।