‘समुदायको सेवा’ मा एशियाकै उत्कृट बनेपाको शिर मेमोरियल अस्पताल
बनेपा/बनेपामा रहेको शिर मेमोरियल अस्पताललाई ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा एशियाली स्तरको अवार्ड प्राप्त भएको छ । एशियाली स्तरमा १५ देशका १ सय १३ वटा अस्पतालबाट ३ सय ७ जना सहभागि मध्ये बनेपाको शिर मेमोरियल अस्पतालले उत्कृष्ट भई अवार्ड प्राप्त गरेको हो ।
अस्पतालका तर्फबाट निरन्तर मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले ग्रामणि समुदायमा पुगेर पाठेघर झर्ने तथा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको परिक्षण, पहिचान र उपचारका लागि निरन्तर प्रयास गरेकी थिईन् । शिर मेमोरियल अस्पतालले ब्यापक महिला स्वास्थ्य परियोजना मार्फत २०२३ जनवरी देखि २०२४ जुनसम्ममा विभिन्न संघ संस्थाको समन्वयमा नेपालका विभिन्न जिल्लाका १२ हजार ८ सय महिलाहरुको स्वास्थ्य परिक्षण गरेको छ । जसमध्ये पाठेघरको मुखको क्यान्सर सम्वन्धी ८ हजार ५ सय ५० जनालाई परिक्षण गरिएको छ । ३ सय ५७ महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको छ । त्यस्तै १ हजार ९ सय २० जना महिलाहरुको पाठेघर झर्ने समस्या देखिएको छ । समस्या देखिएका मध्ये तत्कालै उपचार गरिहाल्नु पर्ने २ सय ७० जना महिलाहरुलाई अस्पतालसम्म ल्याएर निशुल्क उपचार गरिएको छ । जसका लागि अस्पतालले उक्त परियोजना मार्फत उनिहरुलाई निशुल्क सेवा दिएको हो ।
शिर मेमोरियल अस्पतालमा कार्यरत मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार नेपालमा १ लाख महिलामा १६.४ जनामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यो चार गुणा धेरै ठुलो समस्या हो । ‘महिलाहरुको पाठेघरको परिक्षण गर्ने, परिक्षण पछि रोग लाग्नै नदिने, रोह लागेको शंका वा लागेको देखिएमा उपचार गर्ने गरी उक्त कार्यक्रम शुरु गरिएको थियो । त्यसका लागि अस्पताल एक्लैको प्रयास सम्भव थिएन र छैन । स्थानीय स्तरमा कार्यरत स्वास्थ्यकर्मी अनमीहरुलाई तालिम प्रदान गरिएको छ । ४२ जना अनमीहरुले उक्त तालिम पाएका छन्’–डा.बस्नेतले भनिन । अस्पताल ब्यवस्थापन सम्वन्धि कार्यक्रममा शिर मेमोरियल अस्पताल लगायतमा कार्यरत चिकित्सहरुले परियोजना सहितको कार्यक्रम पेश गरेका थिए । पेश गरिएका कार्यक्रम मध्ये बनेपामा रहेको शिर मेमोरियल अस्पतालले संचालन गरेको उक्त कार्यक्रम उत्कृष्ट चारमा परेको थियो । नेपाल, फिलिपिन्स, इन्डोनेशिया र थाईल्याण्ड उत्कृष्ट अवार्डका लागि छनौट भएका थिए । छनौट भएका देशहरु मध्ये पनि नेपालको शिर मेमोरियल अस्पतालले उक्त अवार्ड प्राप्त गरेको हो ।
अस्पताल ब्यवस्थापन एशियामा समुदायको संलग्नतामा उत्कृष्ट भई पहिलो स्थान हासिल गर्दै स्वर्ण विजेताको उपाधी सहित सबैभन्दा प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो । अवार्डका लागि विभिन्न चरणहरु पार भएका थिए । अस्पतालका अध्यक्ष, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस, मेडिकल डाईरेक्टर एन्जिला बस्नेत, प्रशासकिय प्रमुख डा.ताराजंग गुरुङ, मानव शंशाधन निर्देशक उमेश यमन थापा, अस्पतालको विभिन्न शाखामा कार्यरत प्रमुखहरु लगायतले पत्रकार सम्मेलनमा एशियाली अवार्ड प्राप्त गर्न सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद र आभार ब्यक्त गरेका थिए । अस्पतालको तर्फबाट उक्त कार्यक्रमलाई निरन्तरता दिने गरी छलफल भईरहेको डा.बस्नेतले बताईन् ।